काठमाडौं । नेकपा एमालेको आधिकारिक वेबसाइट शुक्रबार अपराह्नदेखि अवरुद्ध भएको छ ।
शुक्रबार अपराह्नदेखि वेबसाइट नखुलेपछि पार्टीभित्र र बाहिर चासो बढेको छ । वेबसाइट खोल्न खोज्दा सेवा उपलब्ध छैन, प्रवेश बन्द गरिएको छ लगायतका सन्देश देखिएका छन् । त्यसअघि वेबसाइटको मुख्य नाममा ‘ह्याक्ड फर जस्टिस’ लेखिएको देखिएको थियो ।
त्यसभन्दा तल्लो ‘सेक्सन’मा ‘अफिसियल साइट वार्निङ’, ‘फाइनल नोटिस, डू नट इन्टरफ्रि’, ‘हर्क साम्पाङ’ जस्ता शब्दहरू देखिएको थियो । अहिले ‘सर्भर अएभाइलेभल’ देखिएको छ ।
वेबसाइट बन्द भएपछि पार्टीका नेता तथा कार्यकर्ताले त्यसमार्फत नियमित पाउँदै आएको सूचना प्राप्त गर्नबाट वञ्चित भएका छन् ।
वेबसाइटमा समस्या देखिएपछि पार्टीको सूचना प्रविधि (आइटी) टोली त्यसलाई पुन: सञ्चालनमा ल्याउन सक्रिय भएको छ ।

एमालेले वेबसाइटमा देखिएको समस्याको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । प्रारम्भिक रूपमा वेबसाइट ह्याक भएको आशङ्का गरिएको भए पनि वास्तविक कारणबारे अझै स्पष्ट हुन सकेको छैन । प्राविधिक टोलीले सर्भर, सुरक्षा प्रणाली तथा अन्य प्राविधिक पक्षहरूको परीक्षण गरिरहेको जनाएको छ ।

एमालेको वेबसाइट पार्टीका गतिविधि, निर्णय, प्रेस विज्ञप्ति, कार्यक्रम तथा विभिन्न दस्ताबेज सार्वजनिक गर्ने प्रमुख डिजिटल माध्यम हो । वेबसाइट अवरुद्ध भएपछि पार्टीका सूचना तथा गतिविधिहरू सार्वजनिक गर्न कठिनाइ उत्पन्न भएको छ ।