काठमाडौँ । फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ । अर्जेन्टिना आफ्नो कप्तान लियोनेल मेसीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।
यसै सन्दर्भमा विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने पाँच खेलाडीको चर्चा यस रिपोर्टमा गरिएको छ ।
विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान क्यामरुनका रोजर मिला (४२ वर्ष ३९ दिन) को नाममा छ । उनले सन् १९९४ मा रसियाविरुद्धको खेलमा गोल गरेका थिए । उक्त खेलमा क्यामरुन १–६ ले पराजित भएको थियो ।
दोस्रो स्थानमा पोर्चुगलका डिफेन्डर पेपे रहेका छन् । उनले सन् २०२२ को कतार विश्वकपमा स्विट्जरल्यान्डविरुद्ध ३९ वर्ष २८३ दिनको उमेरमा गोल गरेका थिए । उक्त खेलमा पोर्चुगल ६–१ ले विजयी भएको थियो ।
तेस्रो स्थानमा पोर्चुगलका नै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो छन् । उनले सन् २०२२ मा घानाविरुद्ध ३७ वर्ष २९२ दिनको उमेरमा गोल गरेका थिए । उक्त गोल निर्णायक बनेको थियो र पोर्चुगलले ३–२ ले खेल जितेको थियो ।

त्यस्तै चौथो स्थानमा स्विडेनका गुन्नार ग्रेन छन् । उनले ३७ वर्ष २३६ दिनको उमेरमा पश्चिम जर्मनीविरुद्ध गोल गर्दै टोलीलाई ३–१ को जित दिलाएका थिए । पाँचौँ स्थानमा मेक्सिकोका कुआउतेमोक ब्लान्को रहेका छन् । उनले सन् २०१० मा फ्रान्सविरुद्ध ३७ वर्ष १५१ दिनको उमेरमा गोल गरेका थिए। उक्त खेलमा मेक्सिको २–० ले विजयी भएको थियो ।
