नेपालका पहाडी र ग्रामीण भेगमा अहिले एउटा मौन तर भयानक सङ्कट व्याप्त छ, मानव र बाँदरबीचको द्वन्द्व । गाउँघरमा बाँदरको हूलले किसानहरूको महिनौँको मिहिनेत, बालीनाली र अन्नपात क्षणभरमै नष्ट गरिदिँदा कतिपय परिवार भोकभोकै बस्नुपर्ने अवस्था छ भने कतिपय गाउँका गाउँ नै बसाइँ सर्न बाध्य छन् । किसानको यो आर्थिक र मानसिक पीडा शतप्रतिशत वास्तविक हो र यसको तत्काल समाधान खोजिनु आवश्यक छ ।
तर, पछिल्लो समय यस सङ्कटको समाधानका रूपमा जुन किसिमका हिंस्रक बहस सुरू भएका छन्, त्यसले हाम्रो मानवीय चेतना र सभ्यतामाथि नै ठूलो प्रश्न चिह्न खडा गरिदिएको छ । कतिपय स्थानीय तह र सरोकारवालाले ‘बाँदरलाई सामूहिक रूपमा मार्ने’ वा अन्य देशमा निर्यात गर्ने जस्ता क्रूर र अपरिपक्व विकल्प अगाडि सारिरहेका छन् । शक्तिको आडमा बन्दुक, धराप वा विष प्रयोग गरेर अर्को प्रजातिलाई सखाप पार्ने यो आदिम सोचले समस्या त समाधान गर्दैन नै, उल्टो यसले इतिहासकै एउटा भयानक र कलंकित अध्यायको सम्झना गराउनेछ ।
इतिहासको ऐना र आदिम क्रूरता
मानव इतिहास (सेपियन्सको इतिहास) को पाना पल्टाउने हो भने हामीले आज भन्दा करिब ३०,००० देखि ४०,००० वर्ष पहिले पृथ्वीमा घटेको एउटा दु:खद घटना फेला पार्छौं । त्यतिबेला यस धर्तीमा हाम्रै पुर्खा होमो सेपियन्स (आधुनिक मानव) सँगसँगै अर्को एउटा अत्यन्तै बौद्धिक, बलियो र संवेदनशील मानव प्रजाति पनि अस्तित्वमा थियो, जसको नाम थियो– होमो निएन्डरथलेन्सिस (निएन्डरथल) । आनुवंशिक वैज्ञानिक र इतिहासकारहरूका अनुसार त्यतिबेला पृथ्वीमा निएन्डरथलहरूको कुल जनसङ्ख्या करिब ७० हजारदेखि एक लाखको हाराहारीमा थियो । उनीहरू स–साना पारिवारिक समूहमा युरोप र एसियाका जङ्गलमा बस्दथे ।
जब हाम्रा पुर्खा अफ्रिकाबाट बाहिर फैलन थाले, तब गाँस, बास र प्राकृतिक स्रोत–साधनका लागि यी दुई प्रजातिबीच द्वन्द्व सुरू भयो । निएन्डरथलहरू शारीरिक रूपमा मानवभन्दा निकै बलिया थिए, तर सेपिएन्ससँग टाढैबाट ज्यान लिन सक्ने अत्याधुनिक ‘प्रोजेक्टाइल भाला’ र धनुषवाण जस्ता प्रविधि थिए । सेपिएन्सहरूले निएन्डरथलका ओडार र सिकार गर्ने क्षेत्रहरू कब्जा गरे, उनीहरूलाई घेरा हालेर छापामार शैलीमा कत्लेआम गरे र भोकभोकै मर्न बाध्य पारे । नतिजास्वरूप, केही हजार वर्षभित्रै निएन्डरथलको शतप्रतिशत जनसङ्ख्या यो धर्तीबाट नामेट भयो । यो इतिहासकै पहिलो र सबैभन्दा ठूलो इकोलोजिकल जेनोसाइड ‘प्रजातिगत नरसंहार’ थियो ।

आज लाखौँ वर्षपछि पनि हाम्रो त्यही आदिम हिंस्रक सोच बदलिएको देखिँदैन । हिजो हाम्रा पुर्खाले निएन्डरथललाई जे गरे, आज हामी बाँदरलाई त्यही गर्न खोज्दै छौँ । हामीले जङ्गल फँडानी गर्यौँ, उनीहरूको प्राकृतिक बासस्थान खोस्यौँ, प्रकृतिलाई कङ्क्रिटको जङ्गल बनायौँ । अनि, आज जब ती जीव भोकै परेर आफ्नो अस्तित्व जोगाउन हाम्रो खेतबारीमा आउँछन्, तब हामी उनीहरूलाई नै अपराधी करार गरेर मार्ने कुरा गरिरहेका छौँ । हिजो ढुङ्गाको भाला थियो, आज बन्दुक र विष छ, तर चेतना उही आदिम र हिंस्रककै ।

प्रश्न उठ्छ, यदि कुनै दिन हामीभन्दा शक्तिशाली अर्को कुनै प्रजाति यो धर्तीमा आयो र उसले आफ्नो स्वार्थ वा सहजताका लागि हामी मानव जातिलाई यसै गरी लखेटेर, क्रूरतापूर्वक मार्न थाल्यो भने हामीलाई कस्तो महसुस होला ? हामी आफूलाई सर्वश्रेष्ठ र चेतनाशील प्राणी भन्छौँ, तर हाम्रो चेतना केवल आफ्नै प्रजातिको स्वार्थ रक्षा गर्ने बेला मात्रै किन जाग्छ ?

समाधानको नयाँ खाका : बृहत् प्राकृतिक आरक्ष
‘बाँदर मार्ने कि नमार्ने’ भन्ने बाइनरी (हो वा होइन) को साँघुरो बहसबाट माथि उठेर वैज्ञानिक, मानवीय र दीर्घकालीन समाधान खोज्ने हो भने नेपालमै एउटा मौलिक र विश्वका लागि अनुकरणीय मोडल तयार पार्न सकिन्छ । त्यो मोडल हो, ‘बृहत् बाँदर आश्रयस्थल वा आरक्ष’ ।
हामीले बाँदरलाई सानो खोर वा चिडियाखानामा थुन्ने कुरा गरिरहेका छैनौँ । नेपालको कुल भूभागको झन्डै ४५ प्रतिशत क्षेत्र वनजङ्गलले ढाकेको छ र पहाडमा लाखौँ रोपनी जमिन बसाइँसराइका कारण बाँझो छ । सरकारले विभिन्न प्रदेशका उपयुक्त र मानव बस्तीभन्दा टाढा रहेका यस्ता विशाल वन क्षेत्रहरूलाई ‘विशेष बाँदर आरक्ष’का रूपमा तोक्न सक्छ ।
देशैभरिका समस्याग्रस्त क्षेत्रबाट बाँदरलाई सुरक्षित रूपमा समातेर यी आरक्षहरूमा पुन:स्थापित गरिनुपर्छ । यस योजनालाई कार्यान्वयनका लागि निम्नलिखित पाँचवटा वैज्ञानिक तथा व्यावहारिक स्तम्भहरू आवश्यक छन् ।
१. वैज्ञानिक तारबार र बफर जोन (स्मार्ट फेन्सिङ)
बाँदर अत्यन्तै चतुर र फुर्तिला हुने भएकाले सामान्य पर्खाल वा तार नाघ्न सक्छन् । त्यसैले आरक्षको सीमानामा अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तु व्यवस्थापनमा प्रयोग हुने ‘फिडब्याक सौर्य स्मार्ट तारबार’ वा अन्य प्रमाणित विधि प्रयोग गर्न सकिन्छ । यसले उनीहरूलाई कुनै शारीरिक क्षति वा करेन्ट नलगाई आरक्षको परिधिभित्रै बस्न बाध्य पार्छ । साथै, आरक्षको सीमाना वरिपरि बाँदरले कत्ति पनि मन नपराउने टिमुर, अदुवा, बेसार, खुर्सानी वा कागती आदिको बाक्लो घेरा बनाउन सकिन्छ, जसले प्राकृतिक अवरोधको काम गर्छ । बाँदरले छिटोछिटो सिक्ने र नयाँ तरिका अपनाउने भएकाले यसमा पनि निरन्तर निगरानी राख्दै परिमार्जन गर्दै लैजानुपर्छ ।
२. वनभित्रै फलफूल वनको विकास
बाँदर गाउँ पस्नुको मुख्य कारण वनमा खानेकुरा नहुनु हो । आरक्ष घोषणा गरिएका वनभित्र व्यापक रूपमा काफल, कटुस, अम्बा, जामुन, जङ्गली केराजस्ता रैथाने फलफूलका बिरुवा र कन्दमूल रोप्नुपर्छ । जब आरक्षभित्रै पर्याप्त खाद्य सुरक्षा हुन्छ, उनीहरू बाहिर निस्कने प्रयास नै गर्दैनन् ।
३. आक्रामक बाँदरहरूको पहिचान र वर्गीकरण
प्राइमेटोलोजिस्टहरूका अनुसार बाँदरको समूह पूर्ण रूपमा ‘अल्फा’ (नेता) र सामाजिक श्रेणीमा चल्छ । मानिसमाथि हुने हिंसक आक्रमण वा बालीनालीको व्यापक विनाशको जड अक्सर सिङ्गो हुल नभएर, त्यो हुलका केही निश्चित ‘अति–आक्रामक’ र ‘साइकोप्याथ’ स्वभावका बाँदर मात्र हुन्छन् ।
यस योजना अन्तर्गत, आरक्षभित्र एउटा विशेष ‘व्यवहार सुधार तथा निगरानी केन्द्र’ (आइसोलेसन वार्ड) बनाइनुपर्छ । विज्ञहरूको टोलीले हिंसक र आक्रामक बाँदरलाई पहिचान गरी मुख्य शान्त समूहबाट छुट्याएर छुट्टै सुरक्षा घेरामा राख्नुपर्छ । हुलबाट ती ‘उत्तेजक’ नेताहरू हटेपछि बाँकी रहेका बाँदरहरू स्वत: शान्त र डरपोक बन्छन्, जसले गर्दा आरक्षभित्र र बाहिरको तनाव र ‘ग्याङ वार’ न्यूनीकरण हुँदै जान्छ ।
४. धार्मिक कोष र वित्तीय दिगोपन
धेरैलाई लाग्न सक्छ, यति ठूलो आयोजनाका लागि बजेट कहाँबाट आउँछ ? यसको उत्तर हाम्रो संस्कृतिमै छ । नेपाली समाजमा बाँदरलाई हनुमानको रूपमा पूजा गरिन्छ । पशुपतिनाथ, स्वयम्भू, मुक्तिनाथजस्ता ठूला धार्मिक संस्था र गुठीसँग सहकार्य गरेर एउटा छुट्टै ‘हनुमान सेवा अक्षय कोष’ स्थापना गर्न सकिन्छ । महायज्ञ वा धार्मिक अनुष्ठानहरूमा ‘गौशाला’का लागि दान गरेजस्तै ‘बाँदर संरक्षण’का लागि दान गर्ने परम्परा बसाल्न सकिन्छ ।
यसका साथै, यसलाई पर्या–पर्यटन ‘इको टुरिजम’सँग जोड्नुपर्छ । इन्डोनेसियाको बालीमा रहेको ‘उबुद मङ्की फरेस्ट’ र थाइल्यान्डको ‘लपबुरी’ यसका विश्वप्रसिद्ध उदाहरण हुन् । आरक्षभित्र निश्चित सुरक्षित क्षेत्र तोकेर पर्यटक र भक्तजनका लागि खुला गर्न सकिन्छ, जहाँ उनीहरूले सफा र स्वस्थकर फलफूल किनेर बाँदरलाई खुवाउन पाउनेछन् । यसबाट सङ्कलन हुने प्रवेश शुल्क र चन्दाबाट पनि आरक्षको खर्च धान्न सकिन्छ ।
५. छुट्टै विभाग, जनशक्ति र अनिवार्य बन्ध्याकरण
यसका छुट्टै विभाग र दक्ष जनशक्ति आवश्यक पर्छ । भारतको हिमाचल प्रदेशले लागू गरेको मोडलबाट पनि हामीले धेरै सिक्न सक्छौँ । भारतमा २००६ देखि २०२१ का बीचमा झण्डै एक लाख ७० हजार बाँदरलाई समातेर बन्ध्याकरण गरिएको थियो । बाँदरहरूलाई सुरक्षित रूपमा समात्ने र आरक्षमा ल्याएर पशु चिकित्सकहरूद्वारा अनिवार्य बन्ध्याकरण गरिनुपर्छ । बाँदरमा ट्रयाकिङ उपकरण लगाइदिएर पनि निगरानी गर्न सकिन्छ । यसका लागि आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को समेत व्यापक प्रयोग गर्न सकिन्छ । यसले गर्दा आरक्षभित्र उनीहरूको जनसङ्ख्या अनियन्त्रित हुन पाउँदैन र समयसँगै प्राकृतिक रूपमै सन्तुलनमा आउँछ ।
निष्कर्ष
नेपालमा धेरै राम्रा योजनाहरू ‘बजेट अभाव’ले होइन, ‘बजेटको दुरुपयोग’, वैज्ञानिक दृष्टिकोणको कमी र व्यवस्थापकीय कमजोरीका कारण असफल हुन्छन् । यस्तो आरक्षलाई कर्मचारीतन्त्रबाट अलग राखेर वन्यजन्तु विज्ञ, इन्जिनीयर र धार्मिक गुठीहरूको एउटा स्वतन्त्र बोर्डमार्फत समेत सञ्चालन गर्न सकिन्छ ।
बाँदरलाई गोली हानेर वा विष दिएर मार्नु भनेको हाम्रो आफ्नो इतिहासको क्रूरतालाई ब्यूँताउनु हो । यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि त बिगार्छ नै, हाम्रो आफ्नै ‘वसुधैव कुटुम्बकम्’ अर्थात् ‘समस्त पृथ्वी नै एउटा परिवार’ हो र सहअस्तित्वको सनातन दर्शनलाई पनि गिज्याउँछ । समस्या जटिल छ, तर समाधान सम्भव छ ।
आरक्ष मोडलले हाम्रा किसानको खेतबारी र जीविकोपार्जन पनि जोगाउँछ, हाम्रो धार्मिक र मानवीय चेतनाको पनि रक्षा गर्छ र देशका लागि दिगो पर्यटनको नयाँ ढोका खोल्छ । अब सरकार र सरोकारवालाले विनाशको बाटो छोडेर यो सिर्जनात्मक र वैज्ञानिक बाटो रोज्ने हिम्मत गर्नैपर्छ ।