सरकार र नागरिक बचाउ महाअभियानबीच प्रधानमन्त्री कार्यालयमा वार्ता सुरु
कर्पोरट खबर
9:09 pm, मंगलबार, भदौ २, २०८३
- नेपाल सरकार र महाअभियानबीच माग समाधानका लागि सिंहदरबारमा औपचारिक वार्ता सुरु भएको छ।
- दुवै पक्षका वार्ता टोली गठन भई आजदेखि संवाद प्रक्रिया अगाडि बढेको हो।
काठमाडौं । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालबीच औपचारिक वार्ता सुरु भएको छ ।
महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।
नेपाल सरकारको तर्फबाट भदौ १ गते सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले,अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थीसहितको वार्ता टोली गठन भएको थियो ।
सरकारको आह्वान बमोजिम महाअभियानका तर्फबाट केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरी पठाएपछि आजदेखि औपचारिक रूपमा संवादको प्रक्रिया अगाडि बढेको हो ।