काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा वरिष्ठ व्यवसायी सुरेन्द्रवीर मालाकारलाई ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड, २०२६’ प्रदान गरेको छ ।
ईश्वर लाल प्रतिष्ठानसँगको सहकार्यमा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत उनलाई सो अवार्ड प्रदान गरिएको हो । आज बिहीबार होटेल र्याडिसनमा आयोजित विशेष समारोहमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले उनलाई सो अवार्ड प्रदान गरे ।
राष्ट्र निर्माण र व्यावसायिक नेतृत्वको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले समेत प्रबल गोर्खा दक्षिण बाहु, सुप्रबल जनसेवा श्री र सुकृतिमय राष्ट्रदीप जस्ता प्रतिष्ठित राष्ट्रिय सम्मानबाट विभूषित गरिसकेको व्यक्तित्वलाई सो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग पराक्रम शाहले जानकारी दिए ।
सम्मानित मालाकारले नेपालको निजी क्षेत्रको सुदृढीकरण, व्यापार तथा उद्योगको विकास, आर्थिक कूटनीतिक सम्बन्ध विस्तार र राष्ट्रको समृद्धिका लागि चार दशकभन्दा बढी समयदेखि निरन्तर एवम् अनुकरणीय योगदान पुर्याएका छन् । दूरदर्शी नेतृत्व, उत्कृष्ट व्यावसायिक क्षमता तथा राष्ट्रिय हितप्रतिको अविचल प्रतिवद्धतामार्फत उनले नेपालको निजी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सको नेतृत्वदेखि नेपाल–कुवेत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री, नेशनल बिजनेस इनिसिएटिभ तथा विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संस्थाहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाले नेपालको व्यापार, लगानी, निर्यात प्रवर्द्धन तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पुगेको छ ।

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी), एसियाली विकास बैंक (एडीबी) लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्दै मालाकारले नेपालको आर्थिक सम्भावना, व्यावसायिक क्षमता तथा लगानीमैत्री वातावरणलाई विश्वसामु परिचित गराउन विशिष्ट योगदान गरेको सम्मानपत्रमा उल्लेख छ ।

‘नेपालको आर्थिक विकास, निजी क्षेत्रको उन्नयन, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा पुर्याउनुभएको दीर्घकालीन, विशिष्ट एवम् अतुलनीय योगदानको उच्च कदर गर्दै कर्पोरेट खबरद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत यहाँलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरी हार्दिक सम्मान व्यक्त गर्दछौँ,’ पत्रमा भनिएको छ ।