काठमाडौं । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट निर्वाचित तीन जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै जुम्ला, नवलपरासी र रुपन्देहीका तीन फरक–फरक तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार भई विजयी भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि आयोगले उनीहरू निर्वाचित भएको पद स्वत: रिक्त भएको निर्णय गरेको हो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले ती जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी प्रमाणसहित पद रिक्त गराउन आयोगलाई जानकारी गराएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ मा भएको व्यवस्था अनुसार कुनै पनि निर्वाचित प्रतिनिधिले दल त्याग गरेमा उसको पद स्वत: रिक्त हुने कानूनी प्रावधान छ ।
सोही कानूनी व्यवस्था र दलको केन्द्रीय समितिको निर्णयका आधारमा निर्वाचन आयोगको असार ८ गतेको बैठकले निजहरूका पदहरू रिक्त भएको निर्णय गरेको हो ।