काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायत विद्यार्थीले गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले १२ वर्षको मिहिनेत खेर भएको जिम्मेवार को हो भन्दै जवाफ दिन माग गरेका छन् ।
छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफूहरूलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरूले जनाएका छन् । विद्यार्थीहरूले निष्पक्ष छानबिन, नि:शुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्यांकन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् ।

कक्षा १२ को नतिजासम्बन्धी विवाद अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरूले जनाएका छन् । विद्यार्थीहरूले मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रूटि नभएको स्पष्ट पारिसकेको छ ।