काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच पछिल्ला केही सातायता सम्बन्धमा चिसोपना बढ्दै गएको संकेत देखिएको छ।
सरकारभित्रै कार्यशैली र समन्वयका विषयमा असन्तुष्टि बढेपछि यो विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शीर्ष तहसम्म पुगेको छ।
आइतबार बुढानीलकण्ठमा प्रधानमन्त्री बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच आत्मदाहको घटना, सुकुम्बासी समस्या तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। सोही भेटवार्तामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैली र सरकारभित्र देखिएको असन्तुष्टिबारे पनि छलफल भएको स्रोतको दाबी छ।
स्रोतका अनुसार प्रधानमन्त्री साहले अर्थमन्त्री वाग्लेको काम गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै केही निर्णय र कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको धारणा राखेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री साहले हालै उद्योगी–व्यवसायी तथा निर्माण व्यवसायीसँग गरेका दुई महत्वपूर्ण छलफलमा अर्थमन्त्री वाग्लेलाई सहभागी नगराएको विषयले पनि सरकारभित्र चर्चा पाएको छ। निजी क्षेत्रसँगको संवादमा अर्थमन्त्री अनुपस्थित हुनु सामान्य घटना नभएको भन्दै यसलाई प्रधानमन्त्रीको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
प्रधानमन्त्री निकट टोलीको बुझाइमा बजेट निर्माणका क्रममा करका दर हेरफेर लगायत केही विषयमा अर्थ मन्त्रालयबाट कमजोरी भएको थियो। ती विषयमा आवश्यक सावधानी अपनाउन नसक्दा सरकार आलोचित बनेको उनीहरूको निष्कर्ष रहेको स्रोतले कर्पोरेट खबरलाई बतायो।
यता अर्थमन्त्री वाग्लेले भने आफूलाई अनावश्यक रूपमा विवादमा तानिएको गुनासो पार्टी सभापति रवि लामिछानेसमक्ष राखेको स्रोतको दाबी छ।
स्रोतका अनुसार वाग्लेले बजेटसँग सम्बन्धित केही प्राविधिक विषयलाई स्वाभाविक र कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने अवस्थामा प्रधानमन्त्री निकट केही व्यक्तिले आफूलाई लक्षित गर्दै नकारात्मक प्रचार गरेको गुनासो गरेका थिए।
“अर्थमन्त्रीले आफ्नो असन्तुष्टि सभापतिसमक्ष राख्नुभएको थियो। त्यसपछि सभापतिले पनि प्रधानमन्त्रीसँग यसबारे कुरा गर्नुभएको हो,” स्रोतले कर्पोरेट खबरसँग भन्यो।
कर्पोरेट खबरलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री कार्यालयको एक समूह अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति पनि असन्तुष्ट छ। आवश्यक सरकारी कामभन्दा बाहिरका कार्यक्रममा बढी समय दिने तथा सरोकार नभएका व्यक्तिसँग भेटघाट बढाएको भन्दै प्रधानमन्त्री कार्यालयभित्रै प्रश्न उठ्न थालेको स्रोतको दाबी छ।
तर अर्थमन्त्री वाग्ले पक्षले भने यस्ता सूचनाहरू नियोजित रूपमा बाहिर ल्याइएको र प्रधानमन्त्री निकटकै केही व्यक्तिले आफूविरुद्ध वातावरण बनाउने प्रयास गरेको गुनासो गर्दै आएको स्रोतले जनाएको छ।
रास्वपाको उच्च तह केही दिनयतादेखि प्रधानमन्त्री र अर्थमन्त्रीबीच बढ्दो दूरीबारे जानकार रहेको बताइएको छ। आइतबारको भेटवार्तामा पनि यही विषय खुलेर उठेको र सम्बन्ध सुधारका विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ।
यद्यपि प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय वा रास्वपा नेतृत्वले यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन्।