काठमाडौं । नेपाली फर्निचर ब्रान्ड सोफा हब काठमाडौं प्रा।लि। ले आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदै व्यवसाय विस्तारको योजनालाई थप तीव्र बनाएको छ।
कम्पनीले जनकपुरमा १२औँ शाखा सञ्चालनको तयारी पूरा गरेको जनाएको छ भने दाङमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई स्वदेशी उत्पादन, युवा उद्यमशीलता र सफल नेपाली ब्रान्ड निर्माणको उदाहरणका रूपमा प्रस्तुत गर्दै छोटो अवधिमै देशभर ११ शाखा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन र ग्राहकप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए।
उनले हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको कम्पनीको फोम उद्योगले आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उद्योग तथा व्यापारको दिगो विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र सरकार–निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए। उनले जनकपुरमा कम्पनीको १२औँ शाखा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको र दाङमा पनि नयाँ शाखा विस्तारको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि तथा नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर कम्पनी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले स्वदेशी उद्योगको विकासले स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुनुपर्ने बताए।
वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी रामप्रसाद सापकोटाले चुनौतीपूर्ण परिस्थितिका बीच पनि सोफा हबले हासिल गरेको सफलता प्रेरणादायी रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, काठमाडौं उद्योग वाणिज्य संघका महासचिव प्रेमहरि मैनाली, हास्य कलाकार सन्दीप क्षेत्री, स्थानीय जनप्रतिनिधि अनिल थापा तथा कन्टेन्ट क्रियेटर सम्राट अधिकारीले पनि शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारी, आगलागीलगायत चुनौतीपूर्ण अवस्थालाई पार गर्दै सोफा हबले नेपालको अग्रणी फर्निचर ब्रान्डका रूपमा आफ्नो पहिचान स्थापित गरेको बताए।
वार्षिकोत्सवका अवसरमा रातोपाटी डटकमका सहायक सम्पादक राजकुमार सिग्देललाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै, कन्टेन्ट क्रियेटर भिडियो प्रतियोगितामा अनिश चापागाईं प्रथम हुँदै एक लाख रुपैयाँ, टिम ४४४ द्वितीय हुँदै ५० हजार रुपैयाँ तथा सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय हुँदै जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका थिए।
विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, उद्योगी–व्यवसायी, पत्रकार, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताबीच सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न भएको थियो।