काठमाडौं– ठगी अभियोगमा फरार रहेका कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिव पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार काठमाडौंबाट उप–सचिवस्तरका कर्मचारीहरू गंगाधर पौडेल र धर्मराज रोकाया लाई नियन्त्रणमा लिएको हो।
केही समय अगाडि शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिजको सेयर बिक्री विषयमा कम्पनीका अध्यक्ष राम निरञ्जन जटिया र जीतबहादुर मगरबीच कम्पनीको मालिक तँ कि म विवाद चरमोत्कर्षमा पुगेको थियो।
विवाद बढेपछि केन्द्रीय अनुसन्धान व्यूरोले छानबिन सुरु गर्यो। अनुसन्धानमा मगरले जटियाको कम्पनीको कागजपत्र कीर्ते गरेर कम्पनी आफ्नो नाममा सारेर खुल्यो।
काठमाडौँ चुनदेवी बस्ने भारतीय नागरिक राम निरञ्जन जटियाको घरमा विगत १६ वर्षदेखि काम गर्दै आएका जीतबहादुरले मिलेर नक्कली कागजात, सहीछाप र हस्ताक्षर कर्ते गरी जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको कागजपत्र बनाइ कम्पनी रजिस्ट्रारको कार्यालयमा जीतबहादुर मगरको नाममा नामसारी गराएको थियो ।
मगरका लागि राजनप्रसाद लम्साल र नीरज कुमार मानन्धर मुख्य सहयोग भए। कम्पनीका दुई उपसचिवले पनि ठगीमा साथ दिए।
कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारी र जीतबहादुरबीच कुनै पनि सेटिङ भएको थिएन। उनीहरूको सेटिङ अरू नै व्यक्तिले मिलाएका थिए।
विचौलियाले कर्मचारीसँग सेटिङ मिलाएको अनुसन्धानमा खुलेको छ। यही प्रकरणमा कीर्ते कागजपत्र बनाइ ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने १२ जनलाई प्रहरीले पक्राउ गरेको थियो।
FACEBOOK COMMENTS