काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
अस्पतालले गत आवको ९ महिनाको अवधिमा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
सन् २०२५ मा २ अर्ब २६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको अस्पतालले सन् २०२४ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेको थियो ।
अस्पतालको कारोबार सन् २०२५ मा ११ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२५ मा बिरामीको संख्या बढ्दा कारोबार बढेको अस्पतालले जनाएको छ ।
हस्पिटलमा सो अवधिमा ओपीडी र आईपीडी सेग्मेन्टमा बिरामीको संख्या बढ्दा आम्दानी सकारात्मक देखिएको हो । सन् २०२१ मा ओपीडी सेग्मेन्टमा ९४ हजार २ सय ३० जना बिरामीले सेवा लिएका थिए । उक्त संख्या बढेर सन् २०२५ मा ओपीडीमा १ लाख ६० हजार ३ सय ५१ जनाले सेवा लिएका छन् ।
हस्पिटलले वार्षिक १४ प्रतिशतले स्वास्थ्य सेवा लिनेको संख्या बढेको जनाएको छ । त्यस्तै, सन् २०२५ मा ८ हजार ५ सय जनाले आईपीडी सेवा लिएका छन् ।
त्यसैगरी, गत आवको ९ महिनाको अवधिमा ओपीडी सेवा लिने ग्राहकको संख्या ८.९ प्रतिशतले वृद्धि भएको छ । जसमा हस्पिटलले १ लाख २७ हजार ४ सय ७३ जनालाई ओपीडी सेवा दिएको छ । त्यस्तै, गत आवमा आईपीडीको संख्या ४.६ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ६ हजार ५ सय ९४ जनाले सेवा लिएका छन् ।
हस्पिटलले सन् २०२५ मा २७ प्रतिशत सञ्चालन मार्जिन कायम गरेको छ । सन् २०२२ मा १९ प्रतिशत गरेको थियो । सञ्चालन कार्यसम्पादन तथा नाफामा आएको सुधारले आन्तरिक नगद आर्जनमा सुधार आएको छ ।
सन् २०२२ मा २३ करोड ७० लाख रुपैयाँ रहेको नगद आर्जन सन् २०२५ मा ७७ प्रतिशतले वृद्धि भएर ४१ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आवको ९ महिनामा थप वृद्धि भएको छ । हस्पिटलको नगद सञ्चिति वृद्धि भई ४७ करोड १० लाख रुपैयाँ पुगेको छ ।
हस्पिटलले आफ्नो क्षमता विस्तारका लागि ऋण बढाएको छ । तर, स्वस्थ नाफा सञ्चिति, थप इक्विटी लगानी तथा न्यून ब्याजदरका कारण पुँजी संरचनामा थप सुधार भएको छ ।
सन् २०२५ मा कम्पनीले १९ करोड ४४ लाख रुपैयाँ इक्विटी लगानी गरेको थियो । जसले गर्दा कम्पनीको नेटवर्थ थप बलियो बनेको कम्पनीको भनाइ छ ।