काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले सर्वोच्च अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशको पालना गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्बन्धी यसअघि गरिएको निर्णय तथा त्यसका आधारमा भएका सम्पूर्ण कार्यहरू हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
यसअघि संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको ४८८औँ बैठकले २०८३ साल असार ३१ गते सम्पन्न ४८७औँ बैठकबाट नरेन्द्र सिंह बिष्टलाई २०८३ साउन ९ देखि २०८७ साउन ८ सम्मका लागि चार वर्षे दोस्रो कार्यकालमा प्रमुख कार्यकारी अधिकृतका रूपमा पुनर्नियुक्ति गर्ने निर्णय तथा सोका आधारमा भएको करार रद्द गर्ने निर्णय गरेको थियो।
सोही बैठकले बिष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्ने तथा साउन ९ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म संस्थाका कायममुकायम नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको थियो।
तर, सर्वोच्च अदालतबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशपछि संस्थाको साउन १२ गते आज विहान बसेको सञ्चालक समितिको ४८९औँ बैठकले ४८८औँ बैठकको निर्णय नं. ४ (क) तथा सोका आधारमा भएका सम्पूर्ण कार्यहरू अर्को आदेश प्राप्त नहुँदासम्म कार्यान्वयन नगर्ने र यथास्थितिमा राख्ने निर्णय गरेको जनाएको छ ।