काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का पूर्ववडाध्यक्ष विजय कुमार यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको जिन्सी विवरणमा दाखिला नगरी व्यक्तिगत नियन्त्रणमा राखेर सञ्चालन गरेको र त्यसबाट प्राप्त आम्दानी स्थानीय तहको कोषमा दाखिला नगरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष यादवले भारतीय राजदूतावास, लैनचौरसँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई सेवा उपलब्ध गराउने उद्देश्यले नि:शुल्क प्राप्त गरेको एम्बुलेन्स वडा कार्यालयको अभिलेखमा समावेश नगरेको आयोगले जनाएको छ।
आयोगका अनुसार एम्बुलेन्स सञ्चालन गर्दा कति दूरी नि:शुल्क सेवा दिइयो, कति दूरीको शुल्क लिइयो, इन्धन खर्च कति भयो भन्ने विवरण खुल्ने कागजात तथा सञ्चालन लगबुकसमेत नराखिएको पाइएको छ। साथै, एम्बुलेन्स सेवाबाट प्राप्त आम्दानी र खर्चको विवरण नगरपालिकामा समेत बुझाइएको नदेखिएको आयोगको भनाइ छ।
अनुसन्धानबाट उक्त एम्बुलेन्सलाई सार्वजनिक सम्पत्ति भएको जानकारी हुँदाहुँदै व्यक्तिगत सवारीसाधनसरह प्रयोग गरी शुल्क उठाइएको र ३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको देखिएको आयोगले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते सार्वजनिक गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा उक्त सेवाबाट हुनुपर्ने रकम १५ लाख ९ हजार २५० रुपैयाँ बराबर रहेको आयोगको निष्कर्ष छ।
आयोगले पूर्ववडाध्यक्ष यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको दाबी गर्दै बिगो कायम गरी सजायको माग दाबी गरेको छ।
आयोगका अनुसार यादवले अनुसन्धानका क्रममा कारबाहीबाट उन्मुक्ति लिने उद्देश्यले एम्बुलेन्स सेवाबाट प्राप्त आम्दानी र त्यसको ब्याजबापत ३ लाख ८१ हजार ५९७ रुपैयाँ दाखिला गरेको देखिएको छ। उक्त रकम घटाएपछि असुल गर्नुपर्ने बिगो ११ लाख २७ हजार ६५३ रुपैयाँ कायम गरिएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवानासहित बाँकी रकम असुलउपर गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।