काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कारबाही गरेको छ।
बोर्डले तीन कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ आर्थिक जरिवाना गराउने निर्णय गरेको हो। बोर्डले सार्वजनिक गरेको विवरण अनुसार कारबाहीमा पर्ने सूचक संस्थाहरूमा ज्ञानेश्वरस्थित सिप्ला सेक्युरिटिज डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज र नक्सालस्थित हातेमालो फाइनान्सियल सर्भिसेज रहेका छन्।
यी संस्थाहरूलाई २०८२ फागुन १३ गतेको निर्णय अनुसार कारबाही गरिएको हो। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ. को उपदफा (१) को खण्ड (ख) बमोजिम कारबाही गर्दै सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ आर्थिक जरिवाना गरिएको धितोपत्र बोर्डले जनाएको छ।
