काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले मुलुकका विभिन्न स्थानमा पछिल्लो समयमा देखिएका सामाजिक तनाव तथा अशान्तिका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, संयमता, आपसी सद्भाव र सामाजिक एकतालाई कायम राख्न अपिल गरेको छ ।
‘नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्ण्ता र सहअस्तित्वका कारण विश्वमै परिचित राष्ट्र हो । यही विशेषतालाई अक्ष्ॉण्ण राख्दै कुनै पनि प्रकारका असहमति, विवाद वा असन्तुष्टिलाई संवाद, वार्ता र संवैधानिक तथा कानुनी प्रक्रियाबाट समाधान गर्नु नै लोकतान्त्रिक समाजको सर्वोत्तम अभ्यास हो भन्ने विश्वास इप्पान व्यक्त गर्दछ ।’ इप्पानले भन्यो ।
‘ऊर्जा क्षेत्र मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार हो । विद्युत आयोजना निर्माणका क्रममा निजी क्षेत्रले देशका हिमाल, पहाड र तराईका विभिन्न भूभागमा स्थानीय समुदाय, विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नागरिकहरूसँग सहकार्य गर्दै लगानी, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्दै आएको छ ।’ इप्पानले भनेको छ, ‘कुनै पनि आयोजना सफल हुन शान्ति, सामाजिक सद्भाव, आपसी विश्वास र सुरक्षित लगानी वातावरण अपरिहार्य हुन्छ । जहाँ शान्ति र स्थिरता कायम हुन्छ, त्यहाँ मात्र दीर्घकालीन लगानी आकर्षित हुन्छ, आयोजना समयमै सम्पन्न हुन्छन्, स्थानीय रोजगारी बढ्छ र राष्ट्रको आर्थिक विकासले गति लिन्छ ।’
यस विपरीत सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द, अवरोध तथा असुरक्षाको वातावरणले आयोजना निर्माणमा प्रत्यक्ष असर पार्नुका साथै लगानीकर्ताको मनोबल कमजोर बनाउने, उत्पादन लागत वृद्धि गराउने, निर्माण अवधि लम्ब्याउने र समग्र आर्थिक गतिविधिलाई प्रभावित गर्ने अवस्था सिर्जना हुने इप्पानको भनाइ छ ।
यसबाट स्थानीय समुदाय, उद्योग–व्यवसाय, श्रमिक तथा समग्र राष्ट्रिय अर्थतन्त्र नै प्रभावित हुने भएकाले शान्ति र सामाजिक सद्भावको संरक्षण सबै पक्षको साझा दायित्व रहेको इप्पानको ठहर छ ।
