काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनका अनुसार बालाजुस्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माविमा तथा श्री बालकल्याण माविका १५४ जना विद्यार्थीलाई नेपाल युवक मावि, पकनाजोलमा स्थानान्तरण गरिएको थियो ।
त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौं महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको उनले बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको जानकारी दिए ।
उनीहरूका लागि विद्यालय आवतजावतका लागि सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल तथा सरसफाइका सामग्री उपलब्ध गराइएको छ भने खेलकुद सामग्रीसमेत वितरण गरिएको उनले उल्लेख गरे ।
उनले गत २९ असारमा खरिपाटी र बोडे होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित बालबालिकाका लागि आवश्यक थप व्यवस्थाको निर्देशन दिइएको पनि जानकारी दिए । अर्को प्रश्नको जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालय तथा शैक्षिक संस्थामा भएका मनोनयन सुशासन र योग्यता प्रणालीलाई सुदृढ बनाउन खारेज गरिएको स्पष्ट पारे ।
उनका अनुसार हाल नौवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहित अन्य उच्च पदाधिकारी पनि नियुक्त भएका छन् । बाँकी रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढिसकेको उनले बताए ।
उच्च शिक्षाको शैक्षिक वातावरण सुधार गर्न सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको पनि मन्त्री पोखरेलले जानकारी दिए । राष्ट्रियसभामा सांसदद्वय मदनकुमारी शाह (गरिमा) र भुवनबहादुर सुनारले शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्न उठाएका थिए ।