काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा नाफासहित अधिकांश प्रमुख वित्तीय सूचकमा सुधार गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ६८ करोड ८६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा ३५.३४ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ५६ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ६१ करोड २० लाख रुपियाँ रहेको थियो। यस आधारमा खुद ब्याज आम्दानी ५.६४ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड १ लाख रुपियाँ पुगेको छ। असुलीमा सुधार र जोखिम व्यवस्थापन प्रभावकारी हुँदा बैंकले छुट्याउने इम्पेरमेन्ट चार्जमा समेत उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षमा बैंकले ४ करोड ९० लाख रुपियाँ इम्पेरमेन्ट चार्ज छुट्याएको छ भने अघिल्लो वर्ष यस्तो रकम ६४ करोड ७० लाख रुपियाँ थियो।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा २१ रुपियाँ ९६ पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर २८ रुपियाँ ४ पैसा पुगेको छ।
वित्तीय विवरणअनुसार बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमता समेत मजबुत बनाएको छ। नियामकीय समायोजनपछि गत आर्थिक वर्षको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपियाँ रहेको छ।
अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस शेयर तथा नगद लाभांश समायोजनपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपियाँ पुगेको छ। साधारण शेयरधनीका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपियाँ २३ पैसा कायम भएको छ।