काठमाडौं। प्रतिनिधिसभा बैठकमा अब सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।
सभामुख डोलप्रसाद अर्याल ( डिपी ) ले संसदको मर्यादा कायम राख्न यस्तो निर्देशन दिएका हुन्।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने विषयमा बारम्बार प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अबदेखि संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सबै सांसदलाई जानकारी गराउन आग्रह गरेका छन्।
बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन शाह र केही मन्त्रीहरू पनि कालो चस्मा लगाएर संसदमा आउने गरेको उल्लेख गर्दै यो नियम सबैलाई समान रूपमा लागू हुनुपर्ने बताइन्। त्यसपछि सभामुखले रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई सरकारलाई पनि यसबारे जानकारी गराउन आग्रह गरेका थिए।
रास्वपा सचेतक परियारका अनुसार संसद बैठकलाई थप मर्यादित बनाउने सन्दर्भमा कालो चस्मासहित सांसदको पोशाक र परिचय–चिह्न ( लोगो ) सम्बन्धी विषय पनि छलफल भएको थियो।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि सभामुखले संसदको गरिमा र मूल्य–मान्यता कायम राख्न औपचारिक पोशाक, कोट तथा कालो चस्मा नलगाउने विषयमा जोड दिएको जानकारी दिए।
सभामुखले बैठक चलिरहेका बेला सांसदहरू लबीमा लामो समयसम्म गफ गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाउँदै त्यस्तो व्यवहार नगर्न आग्रह गरेका छन्।
यद्यपि सभामुखको निर्देशनपछि प्रधानमन्त्री, मन्त्री र सांसदहरूले यो व्यवस्था कत्तिको पालना गर्छन् भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसदको पोशाक सभामुखले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा तोक्ने व्यवस्था छ। पोशाक औपचारिक, मर्यादित तथा नेपाली मौलिक संस्कृति र पहिचान झल्किने हुनुपर्ने उल्लेख गरिएको छ।