काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७९ करोड ८१ लाख रूपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रूपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा १.७२ प्रतिशतको गिरावट हो।
समीक्षा अवधिमा सिमेन्टको बजार मागमा आएको उतारचढावका कारण कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत र कुल नाफा ७.८४ प्रतिशतले घटेको छ।
कम्पनीको वित्तीय खर्च १९.४४ प्रतिशतले बढेको भए पनि कुल खर्च १३.२५ प्रतिशतले घटाउन सफल भएको छ। नाफामा आएको संकुचनसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ६० पैसाले घटेर १४ रूपैयाँ ३ पैसामा झरेको छ।
हाल ५ अर्ब ५९ करोड ३२ लाख रूपैयाँ चुक्तापुँजी रहेको शिवम् सिमेन्ट्सको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रूपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रूपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ४४.२७ गुणा कायम भएको छ।