काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले राजधानीको होटल र्याडिसनमा १८४ वटा एलपीजी ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको दाबी गरेको छ ।
तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने होटलमा ‘छापा’ नमारिएको र नियमित अनुगमन मात्रै गरिएको स्पष्ट पारेको छ ।
बजारमा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको भन्दै उद्योगमन्त्रीको सचिवालयले र्याडिसन होटलमा व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा ग्यास सिलिन्डर भण्डारण गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार होटल परिसरमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा गरी कुल १८४ वटा सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको थियो । त्यस्तै, होटलका विभिन्न भान्साका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पनि सचिवालयले जनाएको छ ।
मन्त्रालयले अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास अनधिकृत रूपमा ठूलो परिमाणमा भण्डारण गरिएको भन्दै होटलमाथि प्रचलित कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको दाबी गरेको छ ।
तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने र्याडिसनमा छापा नमारिएको जनाएको छ। विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार र्याडिसनसहित सोल्टी, हायात, एभरेस्टलगायत ६ वटा ठूला होटलमा नियमित अनुगमन गरिएको हो ।
विभागका अनुसार होटलमा ठूलो सङ्ख्यामा ग्यास सिलिन्डर भेटिनु मात्रै अनियमितताको आधार नहुने देखिएको छ । ठूला होटलमा नियमित रूपमा ठूलो परिमाणमा ग्यास खपत हुने भएकाले आवश्यकताअनुसार सिलिन्डर मौज्दात राख्ने गरेको विभागको भनाइ छ ।
यता, होटल एसोसिएसन नेपालले भने र्याडिसन होटलमा गरिएको अनुगमनलाई लिएर आपत्ति जनाएको छ । कर्पोरेट खबरसँग कुराकानी गर्दै होटल एसोसिएसन नेपालका महासचिव शाजन शाक्यले पाँचतारे होटलमा डेढदेखि दुई सयसम्म ग्यास सिलिन्डर हुनु सामान्य भएको बताए ।
उनका अनुसार ठूला होटलमा नियमित रूपमा ठूलो संख्यामा कार्यक्रम तथा भोज आयोजना हुने भएकाले ग्यासको खपत पनि अत्यधिक हुन्छ ।
‘पाँचतारे होटलमा ठूला–ठूला कार्यक्रम हुन्छन् । त्यहाँ धेरै मात्रामा ग्यासको प्रयोग हुन्छ । डेढ–दुई सय वटा ग्यास सिलिन्डर हुनु सामान्य हो । एकै दिन ४०–५० वटा सिलिन्डरसमेत सकिन्छ,’ शाक्यले भने ।
उनले ग्यास सिलिन्डरको संख्या धेरै भएको आधारमा मात्रै होटलले ग्यास लुकाएर राखेको भन्न नमिल्ने बताए । र्याडिसन होटलमा सरकारले ‘छापा’ मारेको शैली गलत भएको उनको भनाइ छ ।
‘सरकारले छापा हानेर गल्ती गर्यो । ठूलो मात्रामा ग्यास प्रयोग गर्ने होटलमा आवश्यकता अनुसार सिलिन्डर राखिन्छ । यसलाई लुकाएर राखेको भन्न मिल्दैन,’ शाक्यले भने ।
शाक्यले होटलहरूले कति परिमाणसम्म ग्यास मौज्दात राख्न पाउने भन्ने विषयमा स्पष्ट मापदण्ड बनाउन सम्बन्धित निकायसँग माग गर्ने पनि बताए ।
‘हामी सम्बन्धित विभागमा गएर कुन होटलले कति ग्यास राख्न पाउने हो भन्ने स्पष्ट निर्णय गर्न माग गर्छौं,’ उनले भने । र्याडिसन होटलमा १८४ वटा ग्यास सिलिन्डर भेटिएको विषयमा उद्योग मन्त्रालय र वाणिज्य विभागको धारणा नै फरक देखिएको छ ।
मन्त्रालयको सचिवालयले ग्यास ‘लुकाएर राखिएको’ र कारबाहीको प्रक्रिया अघि बढाइएको दाबी गरेको छ भने विभागले ठूला होटलमा १५० देखि २०० वटासम्म ग्यास सिलिन्डर हुनु सामान्य रहेको जनाएको छ ।
होटल एसोसिएसन नेपालले पनि ठूलो मात्रामा ग्यास खपत गर्ने पाँचतारे होटलमा यस्तो मौज्दातलाई अस्वाभाविक मान्न नहुने बताएको छ ।