काठमाडौं । सेयरबजार आज पनि १९.३४ अंकले घटेको छ।
मंगलबार नेप्से उक्त अंकले घटेर २६२२.४८ विन्दुमा झरेको हो। ५ अर्ब ७ करोडको कारोबार भए पनि यस दिन २१७ वटा सेयरको मूल्य घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ५७ वटा सेयरका धनीहरुले भने कमाएका छन्।
कमाउनेमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजका सेयरधनी छन्। उनीहरुले एकै दिन १४.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ६८.४० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका सेयरधनीले पनि प्रतिकित्ता ७८.६० रुपैयाँ कमाएका छन्। बाँकी कम्पनीका लगानीकर्ताले भने अधिकतम ४.७८ प्रतिशतसम्म मात्र आम्दानी गरेका छन्।
त्यसैगरी आज सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परे। उनीहरुले १०.६३ अर्थात् प्रतिकित्ता ५१ रुपैयाँ नोक्सानी व्यहारेको नेप्सेले जनाएको छ। बाँकी सेयरधनीले ९.४० प्रतिशतसम्म गुमाएका छन्।
यस दिन पाँचवटा सेयरका लगानीकर्ताले भने न कमाए, न गुमाएका छन्। दिनभरिमा मंगलबार ५५ हजार २ सय ४६ पटक कारोबार भएको थियो। जसमा डेढ करोड बढी कित्ता खरिदबिक्री भएका थिए। नेप्सेका अनुसार मंगलबार व्यापार सूचक मात्रै बढेको छ।