काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले तीन संस्थालाई सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी, कास्की तथा नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो ।
फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उपकरण सुरक्षित रूपमा भण्डारण गर्न सशस्त्र प्रहरी बल, नेपाललाई चया र्याक्स निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको छ ।
त्यस्तै, रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई आवश्यक उपकरण तथा सामग्री प्रदान गरिएको छ ।
यसैगरी, नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई पुस्तकालयको भौतिक पूर्वाधार विस्तार तथा पुस्तक एवं पत्रपत्रिका खरिदका लागि बैंकले सहयोग गरेको छ ।
पोखरामा आयोजित कार्यक्रममा भारतीय स्टेट बैंकका उपप्रबन्ध निर्देशक किशोर कुमार पोलुदासु तथा नेपाल एसबिआई बैंकका अध्यक्ष मुनीष कुमार चान्दनाले उक्त सहयोग क्रमश: सशस्त्र प्रहरी बल, नेपालका डीआईजी प्रवीण कँडेल, नेपाल रेडक्रस सोसाइटी, कास्कीकी सभापति उर्मिला खड्का भण्डारी तथा नेपाल भारत मैत्री संघ, कास्कीका अध्यक्ष किरणलाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेतीलगायत बैंक तथा सम्बन्धित संस्थाका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति थियो ।
बैंकले यस्ता सामाजिक उत्तरदायित्वका पहलमार्फत समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्दै सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा तथा समग्र सामुदायिक विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।