काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले शानदार सुरुआत गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई उसकै मैदानमा ५-० गोल अन्तरले ले पराजित गर्दै उपाधि रक्षा अभियानलाई प्रभावशाली ढंगले शुरुवात गरेको हो ।
एल्चेको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई तथा फर्मिन लोपेजले दुई गोल गरेका थिए । त्यस्तै नयाँ खेलाडी करिम अदेयेमीले पनि बार्सिलोनाका लागि पहिलो खेलमै गोल गरे ।
राफिन्हाले खेलको १४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । एल्चेका भिक्टर चुस्तले राफिन्हामाथि गरेको फाउलपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । पहिलो हाफको थप गरिएको समयको दोस्रो मिनेटमा राफिन्हाकै पासमा अदेयेमीले गोल गरेपछि बार्सिलोना २-० ले अघि रहेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले अझ आक्रामक खेल प्रस्तुत गर्यो । खेलको ६७औँ मिनेटमा एन्थोनी गोर्डनको पासमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको चार मिनेटपछि गोर्डनकै पासमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता ४-० बनाए । लोपेजले ७९औँ मिनेटमा जाभी एस्पार्टको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित ५-० मा निश्चित गरे ।

यससँगै राफिन्हा र लोपेजले नयाँ सिजनको पहिलो खेलमै दुई-दुई गोल गरेका छन् । यस जितसँगै बार्सिलोनाले लगातार तेस्रो पटक ला लिगाको उपाधि जित्ने लक्ष्यसहित नयाँ सिजनको बलियो सुरुआत गरेको छ । एल्चेविरुद्धको यो जितसँगै बार्सिलोनाको एल्चेविरुद्ध सबै प्रतियोगितामा लगातार १३औँ जितसमेत भएको छ ।