काठमाडौं । भोटेकोशी नदीमा बुधबार बिहान आएको अकस्मात् बाढीले रसुवा भन्सार क्षेत्रमा रहेका करिब ५०० सवारीसाधन बगाएको अनुमान गरिएको छ ।
बाढीका कारण भन्सारको वारीपारी दुबैतर्फ रहेका व्यवसायीका गाडी बगाएको हो ।
रसुवा भन्सारकाअनुसार भन्सार क्षेत्रमा करिब ५०० सवारीसाधन रहेकामा बाढीले सबै बगाएको छ जसमा भन्सार क्षेत्रमा कुनै पनि सवारीसाधन बाँकी नरहेको समेत अुनमान गरिएको छ ।
भन्सार क्षेत्रमा बीवाईडी, एमजी, वुलिङ, ओमोडा एन्ड जेको र नामी लगायतका ब्रान्डको गाडी रहेको बताइएको छ । नेपालका लागि एमजीको आधिकारीक वितरक पारमाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीका अनुसार भन्सारको वारीपारी दुबैतर्फ रहेका गाडीमा क्षेतिको अनुमान गरिएको छ ।
‘केही दिन अघिदेखि त्यहाँ गाडी यताउता गर्न रोक लगाइएको थियो जसका कारण पनि धेरै गाडी भन्सार वारीपारी नै अड्किएका थिए,’ क्षेत्रीले भने, ‘त्यसैले भन्सारको वारीपारी दुबैतर्फका गाडीमा क्षति पुगेको अनुमान गरिएको छ ।’
उनले गाडीको संख्या भने यति नै भनेर एकिन भइनसकेको बताए । ‘यति नै गाडीमा क्षति पुग्यो भनेर अहिले एकिन गर्न सकिने स्थिति छैन,’ उनले भने, ‘अहिलेसम्म भन्सार क्लियरिङ एजेन्टसँग पनि सम्पर्क हुन सकेको छैन ।’

तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ ।
धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको र्याडमा रहेका सबै सवारी साधन बगेका छन् ।