काठमाडौं । जारी ‘नाडा अटो शो २०२६’मा चिनियाँ लक्जरी विद्युतीय सवारी ब्राण्ड स्काईवेलप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ।
विशेषगरी ५० लाख रुपैयाँभन्दा कम मूल्यमा लक्जरी ईभी सार्वजनिक भएपछि स्काईवेलको स्टलमा अवलोकनकर्ताको चासो बढेको हो।
अवलोकनकर्ताका अनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक भएको स्काईवेल बीई११ अटो शोमा प्रदर्शन गरिएका गाडीमध्ये लामो एसयूभीमध्ये एक हो। यसको लम्बाइ ४ हजार ७२० मिलिमिटर रहेको छ।
काठमाडौंको चन्द्रागिरिबाट अटो शो अवलोकन गर्न आएका बाबुकाजी महर्जनले किफायती मूल्यमा लामो आकारको लक्जरी ईभी उपलब्ध भएकाले आफू आकर्षित भएको बताए।


“५० लाखभन्दा कम मूल्यमा आएको यो ईभी अटो शोमा राखिएका गाडीमध्ये लेन्थका हिसाबले सबैभन्दा लामो गाडी हुनुपर्छ,” उनले भने, “अटो शोलाई लक्षित गर्दै कम्पनीले ल्याएको अफरले पनि मेरो ध्यान केन्द्रित गरेको हो।”
त्यस्तै, सितापाइलाका सुवास कार्कीले पनि विगतको तुलनामा निकै सस्तो मूल्यमा स्काईवेल उपलब्ध भएकाले यसको स्टलमा आएको बताए। उनले गाडीका फिचर्सबारे जानकारी लिएको उल्लेख गर्दै नाडा अटो शोको विशेष अफर केही दिन थप गर्नुपर्ने बताए।
लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड स्काईवेललाई नाडा अटो शो २०२६ को पहिलो दिन मंगलबार एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको हो। कम्पनीले हाल स्काईवेलको बीई११ मोडल नेपालमा ल्याएको छ।
कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज दिने बीई११ इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्ट भेरियन्टको ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ।
नाडा अटो शो अवधिभरका लागि कम्पनीले विशेष मूल्यसमेत घोषणा गरेको छ। जसअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार, कम्फर्ट भेरियन्ट ५३ लाख ९९ हजार र लक्जरी भेरियन्ट ५४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको विशेष मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
बीई११ मा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीसहितको भेरियन्टले ४१० किलोमिटर रेन्ज दिनेछ।
डिसी फास्ट चार्जरमार्फत बीई११ लाई ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। दुवै ब्याट्री विकल्पमा १५० किलोवाट क्षमताको मोटर उपलब्ध छ।
बीई११ मा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, प्रशस्त इन्टेरियर स्पेस तथा आधुनिक बडी डिजाइनजस्ता फिचर्स छन्। १९७ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यो ईभी नेपाली सडकका लागि समेत उपयुक्त रहेको कम्पनीको दाबी छ। नाडा अटो शोमा स्काईवेलको स्टल ‘एच१९’ मा रहेको छ।