काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन भएका बैंक तथा वित्तीय संस्थाका थप चार जना कर्मचारी सम्पर्कमा आएका छन्।
बुधबार साँझसम्म २६ जना कर्मचारी सम्पर्कविहीन रहेकोमा बुधबार रातिसम्म थप चार जना सम्पर्कमा आएका हुन्।
नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाका सम्पर्कविहीन कर्मचारीको खोजीका लागि निरन्तर समन्वय गरिरहेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। उनका अनुसार बिहीबार थप विवरण संकलन गर्ने काम भइरहेको छ।
रसुवा बाढीका कारण नौ वाणिज्य बैंकसहित बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्। टिमुरेमा रहेका नौ वाणिज्य बैंकका नौवटै शाखा बाढीमा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
त्यस्तै, ज्योति विकास बैंकका चार, लुम्बिनी विकास बैंकका दुई, मुक्तिनाथ विकास बैंकको एक, सांग्रिला विकास बैंकको एक र आईसिएफसी फाइनान्सको एक शाखा पूर्ण रूपमा क्षति भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले बताए।