काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९० दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गर्नका लागि बोलकबोल आह्वान गरेको हो।
इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलन प्रक्रियामा सहभागी हुन पाउनेछन्।
इच्छुक संस्थाले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत भदौ १८ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
राष्ट्र बैंकले संकलन गर्ने १८ अर्ब रुपैयाँको निक्षेपको अवधि तीन महिना अर्थात् ९० दिनको हुनेछ।

यसअनुसार राखिएको साँवा तथा त्यसमा प्राप्त हुने ब्याज
मंसिर १६ गते भुक्तानी गरिनेछ। निक्षेपको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।
बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिनुपर्नेछ । त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा आवेदन दिन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा उपलब्ध तरलताको अवस्था हेर्दै विभिन्न मौद्रिक उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।
प्रणालीमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदा त्यसलाई निक्षेप संकलनमार्फत केही समयका लागि केन्द्रीय बैंकतर्फ तान्ने गरिन्छ।
यसले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिन्छ।
राष्ट्र बैंकका अनुसार यसरी निक्षेप संकलन उपकरणमा राखिएको रकमलाई बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाउने छैनन्।
तर, उक्त रकमलाई वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्नुका साथै अल्पकालीन ब्याजदरलाई मौद्रिक नीतिको लक्ष्यअनुसार राख्न पनि राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
पछिल्लो बोलकबोलबाट १८ अर्ब रुपैयाँ प्रणालीबाट तानिएसँगै बैंक तथा वित्तीय संस्थाको तत्काल प्रयोग गर्न सकिने अतिरिक्त रकम केही समयका लागि केन्द्रीय बैंकमा रहनेछ।