काठमाडौं । जेनजी शहीद परिवारको संस्था ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा गोल्याणलाई सम्मान गरिएको हो ।
गृहमन्त्री सुदन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गर्यो । अक्षय नेतृत्वको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत शहीदका सन्तानलाई १२ कक्षासम्मको शैक्षिकवृत्ति र बाबुआमालाई आजीवन स्वास्थ्य बीमा प्रदान गरेको छ । जेनजी आन्दोलनको एक महिनापछि २०८२ असोज २४ मा गोल्याण ग्रुपले शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिवद्धताअनुसार फाउण्डेशनमार्फत २२ शहीदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति र २२ शहीदका ४३ आमा–बुबालाई वार्षिक १० लाख रुपियाँको स्वास्थ्य बीमा प्रदान गरिएको छ । शैक्षिकवृत्ति कक्षा १२ सम्म र स्वास्थ्यबीमा आजीवन रहेको छ । फाउण्डेशनले शैक्षिकवृत्ति र स्वास्थ्य बीमा कार्यक्रमको लागि वार्षिक करिब साढे दुई करोड रुपैयाँ विनियोजन गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष तथा प्रवन्ध निर्देशक गोल्याणले शहीद परिवारमा समर्पित शिक्षा र स्वास्थ्यको बचन कुनै एक वर्ष वा कार्यक्रमको लागि नभई सधैंको लागि भएको बताए । ‘यो बचन आज गरेर भोलि बिर्सिने बचन होइन,’ उनले भने, ‘शहीदहरुको सम्मानमा उहाँहरुको सन्तान र बुवाआमाको सुरक्षित भविष्यको लागि निरन्तर रहन्छ ।’
जेनजी आन्दोलनपछि शहीद परिवार र सहीदका सन्तानहरु अध्ययन गर्ने विद्यायको भ्रमणपछि सहीद परिवारको सुरक्षित भविष्यको लागि आफूलाई कर्तव्यबोध भएको उनले बताए । गोल्याणले शहीदहरुले देखेको सुरक्षित, प्रगतिशील, शान्त र न्यायपूर्ण नेपाल निर्माणको सपना सबै मिलेर पूरा गर्नुपर्ने बताए । ‘हामीले शहीदहरुको बलिदानलाई बिर्सेका छैनौं, देश बनाउने हरेक नेपालीको कर्तव्य हो,’ उनले भने, ‘शहीदहरुले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब पालो हाम्रो हो ।’


गोल्याण फाउण्डेशनले शैक्षिकवृत्ति योजनाअन्तर्गत प्रतिविद्यार्थी मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपियाँ प्रदान गरिरहेको छ । शैक्षिकवृत्ति सम्झौतापछि बालबालिकाहरु काठमाडौंको यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डीएभी सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वल्र्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेण्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा अध्ययन गरिरहेका छन् ।
शैक्षिकवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत सम्पूर्ण शुल्कहरू समावेश गरिएको गोल्याण फाउण्डेशनले जनाएको छ ।
शैक्षिकवृत्ति योजनामा आवद्धमध्ये सबैभन्दा जेष्ठ चितवनकी आकृती राईले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेकी छन् भने तीनजना बालबालिकाले सोही वर्ष अक्षरारम्भ गरेका छन् । गोल्याणले आकृतीको लागि तीन वर्ष र अक्षरारम्भ गरेका तीनजनाको लागि करिब १५ वर्षसम्म शैक्षिकखर्च व्यहोर्नेछ ।
फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्तिमा नसमेटिएका शहीद परिवारको लागि स्वास्थ्य बीमा प्रदान गरिएको हो । यस अन्तर्गत सहिदका बुवाआमालाई वार्षिक एकमुष्ट १० लाख रुपियाँको आजीवन स्वास्थ्य बीमा प्रदान गरिएको छ । स्वास्थ्य बीमाअन्तर्गत पहिलो वर्ष करिब आठ लाख रुपियाँको बीमा दाबी रकम भुक्तानी भएको छ । सबैभन्दा बढी कृतिबल्लभ पन्तको स्वास्थ्य उपचारमा करिब चार लाख रुपियाँ भुक्तानी भएको फाउण्डेशनले जनाएको छ ।