काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले जेन्जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि आयोजित कार्यक्रममा सहिद र घाइतेको भावनाको सम्मान हुन नसकेको टिप्पणी गरेकी छन् ।
मंगलबार आयोजना गरिएको सो कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतमलगायतले सम्बोधन गरेका थिए ।
उनले कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाउँदै आफ्ना सन्तान गुमाएका परिवार र आन्दोलनमा घाइते भएकाहरूको पीडालाई कार्यक्रमले कसरी सम्बोधन गर्यो भन्ने प्रश्न उठाएकी छन् । कार्यक्रममा धर्मगुरुको उपस्थितिको औचित्यमाथि समेत उनले प्रश्न गरेकी छन् ।
धितालले जेन्जी आन्दोलनका क्रममा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश सत्ताको विरोधमा सडकमा उत्रिएको स्मरण गर्दै अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्न नहुने बताएकी छन् ।
उनले आन्दोलनको मूल भावना र सहिदहरूको बलिदानलाई आत्मसात् गर्दै आफूहरू पनि सुध्रिनुपर्नेमा जोड दिएकी छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरुलाई समय छदै सुध्रिन चेतावनी दिएका थिए । सांसद धितालले गृहमन्त्रीको नाम उल्लेख नगरी उनीप्रति कटाक्ष गर्दै आत्मसमीक्षाको आवश्यकता औल्याउदै उनले भनेकी छन्- ‘सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?’