काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपियाँ सहयोग गरेको छ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ।
होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
होटल व्यवसायी अरुण कुमार सर्राफ होटल याक एण्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी, काठमाडौंका समेत सञ्चालक हुन् ।
उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको पुरानो र प्रतिष्ठित नाम हो। ऐतिहासिक लाल दरबारलाई समेटेर विकास गरिएको होटल सन् १९७७ देखि सञ्चालनमा आएको हो।
राणाकालीन वास्तुकला, पुराना कलाकृति र ऐतिहासिक संरचनाको संरक्षण गर्दै आधुनिक होटल सेवासँग संयोजन गरिएकाले याक एण्ड यती नेपालको आतिथ्य क्षेत्रसँगै कला, वास्तुकला र सम्पदाको पहिचानसँग समेत जोडिएको छ।
सर्राफ परिवार व्यवसायसँगै सामाजिक सेवा, सम्पदा संरक्षण र दिगोपनका क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ। सर्राफ फाउन्डेसनले नेपालको सांस्कृतिक, वास्तुकलागत तथा हिमाली सम्पदाको संरक्षण, अध्ययन र प्रवद्र्धनमा काम गर्दै आएको छ।
फाउन्डेसनले कला, वास्तुकला, शिक्षा, समुदाय र दिगोपनलाई जोड्दै तारागाउँ नेक्स्ट, नेपाल आर्किटेक्चर आर्काइभलगायतका पहलमार्फत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
खुम्बु क्षेत्रमा दिगो पर्यटन र वातावरण संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेको सगरमाथा नेक्स्ट सर्राफ फाउन्डेसनको सहयोगमा अघि बढाइएको प्रमुख पहलमध्ये एक हो।
नाम्चे बजारनजिक स्याङ्बोचेमा रहेको यस केन्द्रले सगरमाथा क्षेत्रमा बढ्दो पर्यटनसँगै देखिएका फोहोर व्यवस्थापन तथा वातावरणीय चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदाय, संस्कृति र हिमाली वातावरणको संरक्षणमा केन्द्रित भएर काम गर्दै आएको छ।
व्यवसायसँगै सम्पदा संरक्षण, वातावरणीय दिगोपन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सर्राफ परिवारले विभिन्न पहललाई निरन्तरता दिँदै आएको छ। होटल याक एण्ड यतीले बाढी प्रभावितका लागि उपलब्ध गराएको पछिल्लो सहयोगलाई पनि सोही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा लिइएको छ।