काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आफ्नो स्थापना दिवसको अवसरमा भोली भदौ २७ गते शनिबार काठमाडौंको वसन्तपुर डबलीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
‘रक्तदान–जीवनदान, रक्तदान महादान’ भन्ने नाराका साथ आयोजना हुन लागेको कार्यक्रम ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रस्थित कुमारी घर नजिकैको वसन्तपुर डबलीमा सञ्चालन हुनेछ ।
हालको विषम परिस्थितिमा अस्पतालहरूमा हुन सक्ने रगतको अभावलाई सम्बोधन गर्दै आवश्यक समयमा रगतको उपलब्धता सुनिश्चित गर्ने तथा अमूल्य जीवनको रक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गर्नेछ । त्यस्तै, ब्लड डोनर्स एशोसिएसन नेपाल (ललितपुर जिल्ला) र नेपाल वितरक संघले सहकार्य गरेका छन् ।
संघका महासचिव प्रेमहरि मैनालीले अपिल जारी गर्दै संघका पदाधिकारी, विभिन्न विषयगत समितिका प्रतिनिधि, उद्योगी–व्यवसायी, युवा तथा सम्पूर्ण सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै रक्तदान गर्न आग्रह गरेका छन् ।