काठमाडौं । चाङ्गानको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘नेभो क्यू ०५’ पोखरामा सार्वजनिक गरिएको छ ।
एमएडब्यू वृद्धि अटोकर्पले पोखरामा एक कार्यक्रम आयोजना गरी क्यू ०५ को अल्ट्रा भेरियन्ट सार्वजनिक गरेको हो । यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ गाडी सार्वजनिक गरेसँगै पोखराको चाउथेस्थित डीपल शोरुममा ३–६ असोजसम्म चारदिने विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ । उक्त अवधिमा ग्राहकले नेभो क्यू ०५ प्रत्यक्ष परीक्षण गर्न सक्नेछन् ।
कम्पनीका अनुसार नेभो क्यू ०५ लाई कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव दिने गरी विकास गरिएको हो ।
यसमा २,७३५ मिलिमिटरको ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोग रहेको छ । पछाडिको सिटमा तीन जना बस्न सक्ने तथा सिटब्याकलाई २८ र ३३ डिग्रीमा रिक्लाइन गर्न सकिने सुविधा रहेको कम्पनीको भनाइ छ ।

गाडीमा ५४० लिटरको डुअल–लेभल बुट, ९० लिटरको अतिरिक्त लुकाइएको स्टोरेज र विभिन्न प्रयोजनका लागि २९ वटा स्टोरेज स्पेस उपलब्ध छन् । चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रुफ र पावर सनसेडसमेत रहेको छ ।

डिजाइनतर्फ क्यू ०५ को विकास चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा भल्क्स्वागन समूहका पूर्वहेड अफ डिजाइन क्लाउस जिक्योरा नेतृत्वको टोलीले गरेको कम्पनीले जनाएको छ ।
३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको सहभागितामा विकसित गाडीमा ०.२६५ सीडी ड्र्याग कोइफिसियन्ट, डिजिटल ह्विङ २.० फुल–विड्थ लाइटिङ, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट र सेमी–हिडन डोर ह्यान्डलजस्ता डिजाइन विशेषता छन् । कम्पनीका अनुसार क्यू ०५ ले २०२६ गेल्डेन ‘ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको छ ।
प्रविधितर्फ क्यू ०५ मा क्याटलका ब्याट्री सेलसहित चाङ्गानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ । ३ सी फास्ट–चार्जिङ प्रणालीमार्फत उपयुक्त परिस्थितिमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
क्यू ०५ मा १२० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा पुर्याउन सक्ने बताइएको छ । कम्पनीका अनुसार ड्ब्यूएलटीपीसी परीक्षणमा यसले ४०५ किलोमिटरको ड्राइभिङ रेन्ज र प्रति १०० किलोमिटर १२.९ किलोवाट–घण्टा ऊर्जा खपत प्रदान गर्छ ।
गाडीमा १४.६ इन्चको १०८० पिक्सेल टचस्क्रिन, एमटीके ८६७५ सात–न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोलगायतका सुविधा छन् । भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन र ५४०–डिग्री प्यानोरामिक भ्युिङ सिस्टमसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेभो क्यू ०५ सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजकी अध्यक्ष शोभा गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।
कार्यक्रममा नाडाका पूर्वअध्यक्ष ध्रुव थापा, वाडाका उपाध्यक्ष निरन के.सी., डीपलका एम्बेसडर प्रदीप खड्का, एमएडब्यू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दलगायतको उपस्थिति थियो ।
एमएडब्यू वृद्धि अटोकर्प नेपालमा चाङ्गान अटोमोबाइल तथा यसका सब–ब्रान्ड दिपल, नेभो र अभतारका अधिकृत डिलरका रूपमा कार्यरत रहेको कम्पनीले जनाएको छ ।