काठमाडौं । नेपालमा महिला ई–स्पोट्र्स खेलाडीको प्रतिभा र क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ।
कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली फाइनलका लागि छनोट भएका छन्। आज हुने फाइनलमा ती १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। आयोजकका अनुसार महिला ई–स्पोट्र्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताले महिला खेलाडीको सहभागिता र प्रतिस्पर्धात्मक क्षमता उजागर गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ। प्रतियोगितामा म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहकार्य रहेको छ।

आयोजकका अनुसार फाइनल प्रतिस्पर्धामा सहभागी महिला खेलाडीको प्रदर्शनसँगै नेपालमा महिला ई–स्पोट्र्सको सम्भावना र विकासका विषयसमेत थप उजागर हुनेछन्।
