काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीन व्यापारका प्रमुख तीनवटै स्थल नाका प्रभावित भएपछि दसैंको मुखमा बजारको आपूर्ति व्यवस्था प्रभावित भएको छ ।
तातोपानी, रसुवागढी र कोरला नाका जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि चीनबाट हुने स्थलमार्गको आयात प्रभावित भएको हो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका वस्तु आयात गरिसकेको छ ।
दसैं नजिकिँदै गर्दा चिनियाँ सामानको माग बढ्ने समयमा नै नाका तथा सडक अवरुद्ध भएपछि व्यवसायीले ठूलो परिमाणमा ल्याउन खोजेको सामान बाटोमै रोकिएको छ ।
तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यस अघि नै प्रभावित थियो । त्यसपछि भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाको संरचनामा ठूलो क्षति पुर्याएपछि उक्त नाकाबाट हुने व्यापार पनि रोकिएको छ ।

यी दुई नाकामा समस्या आएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग बढेको मुस्ताङको कोरला नाका पनि बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ । कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्ग अन्तर्गतका केही पुल र तिनका पहुँचमार्गमा क्षति पुर्याएपछि कोरला पुग्ने यातायात अवरुद्ध भएको हो ।
कोरला नाका र भन्सार कार्यालयको संरचनामा ठूलो क्षति नभए पनि बेनी–जोमसोम सडक खण्डमा परेको असरका कारण मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ ।

कोरला नाकामा बढेको व्यापार फेरि रोकियो
तातोपानी र रसुवागढी नाकामा समस्या आएपछि पछिल्लो समय कोरला नाकाबाट आयात बढेको थियो । भदौ १० देखि २५ गते सम्म मात्रै यस नाकाबाट ४ सय ३४ कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

चालु आर्थिक वर्षको भदौ अन्तिम साता सम्म मुस्ताङ भन्सारबाट २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने यही नाकाबाट १४ अर्ब ४१ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए । तीन हजार भन्दा बढी विद्युतीय सवारी साधन समेत यही नाकाबाट नेपाल भित्रिएका थिए ।
तर अहिले कोरला जोड्ने सडक अवरुद्ध भएपछि भन्सार परिसर र सडक क्षेत्रमा ठूलो संख्यामा मालवाहक सवारीसाधन तथा विद्युतीय गाडी रोकिएका छन् ।
दसैंका लागि ल्याइएको २० देखि ३० प्रतिशत सामान मात्रै काठमाडौंमा
चीनबाट आयात हुने कपडा, जुत्ता, चप्पल, झोला, विद्युतीय सामग्रीदेखि विद्युतीय सवारी साधन सम्मको आपूर्ति प्रभावित भएको छ ।
दसैंका लागि व्यवसायीले मगाएको सामानमध्ये अहिले सम्म करिब २० देखि ३० प्रतिशत मात्र काठमाडौं आइपुगेको व्यवसायीहरूले बताएका छन् ।
नाका तथा सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका सामानलाई वैकल्पिक मार्गबाट ल्याउने प्रयास समेत प्रभावकारी हुन सकेको छैन ।
बजारमा रहेको पुरानो मौज्दात र स्वदेशी उत्पादनले केही हदसम्म माग धाने पनि दसैंको समयमा आवश्यक पर्ने थप सामानको आपूर्ति कमजोर भएको व्यवसायीहरूको भनाइ छ ।
चिनियाँ सामानको ढुवानीमा समस्या आएपछि केही व्यवसायीले भारत हुँदै साना सवारी साधनमार्फत सामान ल्याउने प्रयास गरिरहेका छन् ।
तर भारतीय बजारबाट सामान ल्याउँदा खरिद मूल्य र ढुवानी खर्च दुवै बढी पर्ने भएकाले उपभोक्ता मूल्य समेत बढ्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन् ।
व्यवसायीहरूका अनुसार डलरको मूल्यमा भएको वृद्धि र ढुवानी खर्च बढेका कारण आगामी दिनमा बजारमा आउने सामानको मूल्य करिब २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने जोखिम छ ।
दसैंको मुख्य व्यापारिक समयमै बजार सुस्त
दसैंअघि बजारमा व्यापारिक गतिविधि बढ्नुपर्ने भए पनि लगातारको वर्षा र सडक अवरोधका कारण त्यसको विपरीत अवस्था देखिएको व्यवसायीहरूले बताएका छन् ।
काठमाडौंका थोक बजारमा बाहिरी जिल्लाबाट सामान खरिद गर्न आउने व्यापारीको संख्या पनि घटेको छ ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध तथा जोखिमपूर्ण बनेपछि बाहिरी जिल्लाका व्यापारी काठमाडौं आउन नसक्दा थोक कारोबार प्रभावित भएको छ । केही व्यवसायीले सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट अर्डर लिइरहे पनि त्यसले नियमित व्यापारको अभाव पूर्ति गर्न नसकेको व्यवसायीहरूको भनाइ छ ।
पूर्वाधार कमजोर हुँदा वैकल्पिक नाकामै समस्या
नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न खोजिएको कोरला नाकामा पनि पूर्वाधार र सञ्चालन क्षमताका समस्या रहेको व्यवसायीहरूले बताएका छन् ।
भन्सार प्रक्रिया, जनशक्ति, नेटवर्क तथा सफ्टवेयर प्रणालीमा समस्या हुँदा नाकाको क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको उनीहरूको भनाइ छ । चीनतर्फको लामो दूरी र नेपालतर्फको कमजोर सडकका कारण कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्च पनि उच्च हुने गरेको छ ।
व्यवसायीहरूका अनुसार कोरला नाकाबाट नियमित रूपमा आपूर्ति हुन सके पनि ढुवानी लागतका कारण चिनियाँ सामानको मूल्य बढ्ने गर्छ । अहिले भने सडक नै अवरुद्ध भएपछि मूल्यभन्दा पनि आपूर्ति नै मुख्य समस्या बनेको छ ।
भन्सार तथा सडक क्षेत्रमा सयौं सवारीसाधन रोकिए
कोरला क्षेत्रमा अहिले भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका ठूलो संख्याका मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन् ।
भन्सार यार्ड तथा नाका क्षेत्रमा गरी करिब ३ देखि ४ सय विद्युतीय गाडी र खाली तथा सामान बोकेका कन्टेनर थन्किएको बताइएको छ ।
चीन तर्फबाट सवारीसाधन आउने क्रम रहे पनि नेपालतर्फको सडक अवरुद्ध भएकाले व्यापारीले तत्काल भन्सार जाँचपास गराउन समेत चासो नदेखाएको बताइएको छ ।
सडक मर्मत तथा अवरुद्ध मार्ग खुलाउने काम तीव्र पारिए पनि तीनवटै प्रमुख व्यापारिक मार्गमा एकैपटक समस्या आएपछि नेपाल–चीन स्थल व्यापारको आपूर्ति शृंखला नै प्रभावित भएको छ ।
दसैंअघि सडक सम्पर्क पुन:स्थापित हुन नसके चीनबाट आउने उपभोग्य वस्तुको आपूर्तिमा थप दबाब पर्न सक्ने र त्यसको असर बजार मूल्यमा समेत देखिन सक्ने व्यवसायीहरूले बताएका छन् ।