काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि हिउदको विद्युत मागको व्यवस्थापन चुनौती पूर्ण देखिएको छ ।
सरकारले वैकल्पिक व्यवस्थापनमा जुटेको बताएको छ । बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो ।
भोटेकोशी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ ।
मन्त्रालयले सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रीड निर्माणका लागि छलफल गरेको छ । नेपाल विद्युत प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माणको कार्य अगाडि बढाएको छ ।
कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्नका निम्ति सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत व्यवस्थापनको सहकार्य लागि छलफल गरिएको प्रवक्ता शाक्यले बताए ।

छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माण विभागका तर्फबाट आश्यक सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए । काठमाडौँ महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले पनि फुटपातभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए ।

विद्युत प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौँ उपत्यकाभित्र गरिरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताबमोजिम सघन सहकार्य गर्ने बताए ।

छलफलमा काठमाडौँको लोड व्यवस्थापन र आवश्यक कार्यका विषयमा बागमती वितरण तथा ग्राहक निर्देशनालय प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतिकरण गर्दै नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर हिउँदे माग व्यवस्थापनको काम अगाडि बढाइरहेको जानकारी दिए ।
छलफलमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे मागको व्यस्थापनमा सबै निकायको उच्च सहकार्य र सहयोग आवश्यक रहेको बताए । उनले हिउँदमा विद्युतको चापलाई सहज व्यवस्थापनमार्फत सम्बोधन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि बताए ।
सुखायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । माग–आपूर्ति सन्तुलनका लागि विभिन्न माध्यमबाट थप १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।