काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूको संस्था विकासोन्मुख देशहरूका बीमा तथा पुनर्बीमा कम्पनीहरूको सङ्घ (एआईआरडीसी) को उपाध्यक्षमा निर्वाचित भएका छन्।
जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सम्पन्न एआईआरडीसीको साधारण सदस्य बैठकबाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनी एआईआरडीसीको कार्यकारी बोर्ड अफ ट्रस्टीजका सदस्यसमेत रहनेछन्।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान तथा बीमा क्षेत्रको विकास र विस्तारलाई प्रवद्र्धन गर्ने उद्देश्यले एआईआरडीसी स्थापना भएको हो।
क्षेत्रीको नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
एआईआरडीसीको आगामी बोर्ड अफ ट्रस्टीज बैठक सन् २०२७ अप्रिल ६ मा फिलिपिन्सको मनिलामा आयोजना हुने तय भएको छ। त्यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने २५औँ एआईआरडीसी सम्मेलनको स्थानीय आयोजक समितिको अध्यक्षको जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन्।

उक्त सम्मेलन सफलतापूर्वक आयोजना गर्न क्षेत्रीको नेतृत्वमा नेपाल तथा एआईआरडीसीका सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने कम्पनीले जनाएको छ।

एआईआरडीसीको उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवद्र्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई समेत एआईआरडीसीको सदस्य बन्न प्रोत्साहित गर्ने भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सलिकोले क्षेत्रीलाई उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएको छ।