काठमाडौं । भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा रास्वपा सांसद गणेश पराजुली चयन भएका छन् ।
सभापतिमा चयन भएका पराजुलीलाई सभामुख डोल प्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ को सभापति चयन गर्न सभामुख अर्यालले बुधबारका लागि तोकेका थिए ।
यहि असोज ५ गते बसेको संसद बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति’ मा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गा देवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कंडेल, मोहन आचार्य, मिग्मा ग्याबू शेर्मा , रमेश मल्ल, रविन्द्र पटेल, सरस्वति लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन् ।

समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि अध्ययन गर्ने छ भने समितिको कार्यावधि पहिलो बैठक बसेको तीन महिनाको हुने र आवश्यक परेमा प्रतिनिधि सभाले समय थप गर्न सक्ने कार्यविधि तय गरिएको छ ।
