काठमाडौं । एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्ने बैंकका ग्राहकलाई सहुलियतपूर्ण ब्याजदर तथा विशेष सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
समझदारीपत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार लक्ष्मी प्रिमियम मोटर्सले नेपालका लागि आधिकारिक बिक्रेताका रूपमा बिक्री गर्दै आएका बीएमडब्लु ब्रान्डका विभिन्न सवारीसाधन खरिद गर्ने एनआईसी एशिया बैंकका ग्राहकले विशेष कर्जा सुविधा पाउनेछन्।
सबै प्रकारका गाडी खरिद गर्दा परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहने ग्राहकले बैंकको औसत आधारदरमा थप १ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।यसैगरी, कर्जा लिने ग्राहकले प्रशासनिक सेवा शुल्कमा २५ बेसिस पोइन्ट छुट पाउनेछन्। बैंकका अनुसार कर्जा स्वीकृति तथा प्रवाह प्रक्रियालाई समेत छिटो र सहज बनाइनेछ।

बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीचको उक्त सहकार्यले बीएमडब्लु सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक ब्याजदर तथा सहज कर्जा प्रक्रियामार्फत वित्तीय सुविधा लिन थप सहज हुने अपेक्षा गरिएको छ।
