काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ ।
बैंकका अनुसार भदौ १० गते आएको भीषण बाढीका कारण रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा रहेको भवन बाढीले बगाएको छ । यस्तै, नुवाकोटकै त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा पुगेको छ ।
तीनै शाखा कार्यालयमा ठूलो क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्म ती शाखाबाट बैंकिङ सेवा सञ्चालन नहुने बैंकले जनाएको छ ।
बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको जानकारी दिएको छ । आवश्यक परे कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको बैंकको भनाइ छ ।
एनआईसी एशिया बैंकले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको बैंकले जनाएको छ ।

साथै, सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सबै निकायप्रति सम्मान व्यक्त गरेको छ ।