काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
गत साउन १० गते बुधबारका दिन सीमा क्षेत्रको हिमताल फुट्दा आएको भीषण बाढीले रसुवाको टिमुरे नाका हुँदै भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएपछि संघले उक्त सहयोगको प्रतिबद्धता जनाएको हो ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
विज्ञप्तिमा बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, उपचार र सुरक्षित पुनस्र्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ । ‘विपत्तिको यस घडीमा हामी नेपाल सरकारको साथमा छौँ,’ संघले उल्लेख गरेको छ ।
राष्ट्रिय विपत्तिका बेला निजी क्षेत्र टाढा रहन नसक्ने बताउँदै संघले अन्य उद्योगी तथा व्यवसायीहरूलाई पनि आफ्नो सामथ्र्य अनुसार राहत र पुनस्र्थापना अभियानमा सहभागी हुन हार्दिक आह्वान गरेको छ ।
टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रमा बाढीले पुर्याएको अपूरणीय क्षतिका बीच संघले देखाएको यो ऐक्यबद्धताले राहत कार्यमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । टकु, काठमाडौंमा प्रधान कार्यालय रहेको संघले यसअघि पनि विभिन्न राष्ट्रिय संकटका समयमा सरकार र नागरिकलाई सहयोग गर्दै आएको छ ।