काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।
सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् सामना गर्ने तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्ने विषयको आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराएका थिए ।
जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता सुदृढ गर्नुपर्नेमा सभामुख अर्यालले जोड दिएका थिए। यस विषयमा अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

