काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक गरेको हो ।
दाजुभाइबीचको मिलन र भातृत्व दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलको संगीत छ भने डा. कृष्णहरि बरालको शब्द छ ।
स्वर्गलोकका युधिष्ठिर धर्तिमा रहेका आफ्ना भाइहरू समस्यमा परेपछि खोजी गर्दै आइपुगेको देखाइएको छ ।
कात्तिक २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिक्देल, महेश त्रिपाठी र सुशील सिटौला छन् । यी कलाकार ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपानेलगायतको पनि अभिनय छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।
