काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन्।
पार्टीले सार्वजनिक गरेको प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाअनुसार सक्रिय सदस्यहरूमध्येबाट महिला ३, उत्पीडित १ तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समुदायको प्रतिनिधित्व हुने गरी २ जना निर्वाचित हुनेछन्।
यसरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनबाट चयन भएका अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

पदेन प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने श्रेष्ठले बताएका छन्। हिमाल, पहाड र तराईको जनसंख्याको प्रतिशतका आधारमा विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि चयन गरिने पार्टीले जनाएको छ।

प्रतिनिधि छनोटका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ। सो अवधिमा योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट गरिसक्नुपर्ने तालिका छ।
