काठमाडौं । सौन्दर्य तथा कस्मेटिक सम्बन्धी सेवा प्रदान गर्दै आएको स्प्राकल ब्यूटी एकेडेमीले आफ्नो दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–नेपालटारस्थित होराइजन अस्पतालको अगाडि मंगलबार एकेडेमीको दोस्रो शाखा औपचारिक रूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । शाखाको उद्घाटन वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले गरेकी हुन् ।

मेकअप, हेयर स्टाइलिङ, फेसियल, स्किन केयरलगायत सौन्दर्य तथा व्यक्तिगत स्याहारसँग सम्बन्धित विभिन्न सेवा प्रदान गर्दै आएको एकेडेमीले छोटो समयमै आफ्नो व्यवसाय विस्तार गर्न सफल भएको हो । सौन्दर्य क्षेत्रमा बढ्दो आकर्षण र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको सञ्चालकहरूले बताएका छन् ।


दोस्रो शाखाको उद्घाटन गर्दै वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले नेपालमै आफ्नो भविष्य देखेर उद्यमशीलता रोज्ने युवाहरूको प्रयासको प्रशंसा गरिन् । पछिल्लो समय नेपालमा अवसर नदेखेर ठूलो संख्यामा युवा विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गर्नु सकारात्मक कदम भएको उनको भनाइ थियो ।

महराले स्वदेशमै व्यवसाय सञ्चालन गर्नु व्यक्तिगत आर्थिक उन्नतिमा मात्र सीमित नभई देशको अर्थतन्त्र र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने माध्यम भएको बताइन्। युवाहरूले नेपालमा पनि सम्भावना र अवसर खोज्नुपर्नेमा जोड दिँदै उनले उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखिन् ।



“स्वदेशमै केही गर्छु भन्नु निकै सकारात्मक सोच हो । नेपालमा भविष्य छैन भन्दै विदेशिने युवाको संख्या बढिरहेको समयमा आफ्नै देशमा भविष्य देखेर उद्यमशीलता सुरु गर्नेहरू सम्मानका पात्र हुन् । उनीहरूलाई निरुत्साहित होइन, प्रोत्साहन गर्नुपर्छ । म सधैँ उद्यमशीलता र स्वदेशमै केही गर्न चाहने व्यक्तिहरूलाई साथ दिन तयार छु”, महराले भनिन् ।
उनले स्प्राकल ब्यूटी एकेडेमीले नेपालमै व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ दोस्रो शाखा सञ्चालनमा ल्याएकोमा सञ्चालकहरूलाई शुभकामना दिँदै आगामी दिनमा थप सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

एक वर्षअघि काठमाडौंको कालीमाटीस्थित लुम्बिनी मार्टबाट पहिलो शाखाका रूपमा सञ्चालनमा आएको स्प्राकल ब्यूटी एकेडेमीले छोटो अवधिमै दोस्रो शाखा विस्तार गरेको हो । एक वर्षको अवधिमा दुईवटा शाखा सञ्चालनमा ल्याउन सफल हुनु ग्राहकको विश्वास, माया र टिमको मेहनतको परिणाम भएको एकेडेमीकी सञ्चालक रोजी शाहले बताइन् ।
शाहका अनुसार व्यवसाय सुरु गर्दादेखि नै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने र उनीहरूको आवश्यकतालाई प्राथमिकता दिने प्रयास गरिएको छ । ग्राहकको सकारात्मक प्रतिक्रिया र सहयोगले व्यवसायलाई थप विस्तार गर्न प्रेरणा मिलेको उनले बताइन् ।

“यो ग्राहकहरूको माया र हाम्रो टिमको निरन्तर मेहनतको फल हो । एक वर्षमै दुईवटा शाखा सञ्चालनमा ल्याउन सफल हुनु हाम्रा लागि खुसीको कुरा हो । ग्राहकहरूले देखाउनुभएको विश्वासले हामीलाई अझ जिम्मेवार भएर काम गर्न प्रेरित गरेको छ । आगामी दिनमा थप मेहनत गर्दै संस्थालाई अझ ठूलो बनाउने र आवश्यकताअनुसार अन्य स्थानमा पनि शाखा विस्तार गर्ने हाम्रो योजना छ”, शाहले भनिन् ।
उनले दोस्रो शाखा सञ्चालनमा आएसँगै नेपालटार तथा आसपासका क्षेत्रका ग्राहकलाई पनि सौन्दर्य र व्यक्तिगत स्याहारसम्बन्धी सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन् । ग्राहकको आवश्यकता, रुचि र बदलिँदो सौन्दर्य क्षेत्रलाई ध्यानमा राखेर सेवा थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ ।

त्यस्तै, एकेडेमीकी अर्की सञ्चालक जुनु मगरले पनि नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूहरू उद्यमशीलतामा लागेको बताइन् । स्वदेशमै सम्भावना खोजेर लगानी गर्ने उद्देश्यले आफूले यो क्षेत्रमा पाइला चालेको उनको भनाइ थियो ।
“नेपालमै केही गर्नुपर्छ र आफ्नै देशमा सम्भावना खोज्नुपर्छ भन्ने सोचका साथ मैले यस क्षेत्रमा लगानी गर्ने निर्णय गरेकी हुँ । यो संस्थामा लगानी गर्नुअघि मैले विभिन्न क्षेत्रमा काम गरेँ, अनुभव लिएँ र व्यवसायका विभिन्न पक्ष बुझ्ने प्रयास गरेँ । त्यसपछि मात्र लगानी गर्न तयार भएकी हुँ । कुनै पनि क्षेत्रमा सफल हुन मेहनत, अनुभव, धैर्य र निरन्तरता आवश्यक हुन्छ”, मगरले भनिन् ।

उनले स्वदेशमै उद्यम सुरु गर्दा चुनौतीहरू भए पनि लगनशीलता र योजनाबद्ध प्रयासबाट व्यवसायलाई अगाडि बढाउन सकिने बताइन् । युवाहरूले रोजगारीका लागि विदेश जाने विकल्पसँगै स्वदेशमै उद्यम गर्ने सम्भावनालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो ।
नेपालमा सौन्दर्य तथा व्यक्तिगत स्याहारसम्बन्धी सेवाको माग बढ्दै गएको अवस्थामा यस क्षेत्रमा व्यवसाय विस्तारको सम्भावना रहेको सञ्चालकहरूको बुझाइ छ । ग्राहकको बदलिँदो रुचि, जीवनशैली र सौन्दर्यसम्बन्धी आवश्यकता अनुसार सेवा प्रदान गर्दै एकेडेमीलाई थप व्यवस्थित र विस्तार गर्ने उनीहरूको योजना छ ।