काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ।
प्राधिकरणले साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि अतिरिक्त भएको दुई अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो। प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्यांकअनुसार चार महिनाको औसत विद्युत् बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ५८ पैसा रहेको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी विद्युत् निर्यात असोजमा भएको छ। असोजमा ६५ करोड नौ लाख युनिट विद्युत् निर्यातबाट ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँ प्राप्त भएको छ। उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट नौ रुपैयाँ ३१ पैसा रहेको थियो।
कात्तिकमा भने ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यातबाट चार अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ। कात्तिकमा औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ६८ पैसामा झरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुर्याउँदा यस वर्षको निर्यात प्रभावित भएको बताए।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा समेत विद्युत् निर्यात भइरहेको छ।



त्रिपक्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात हुँदै आएको छ। भारतसँग भारतीय रुपैयाँ र बंगलादेशसँग अमेरिकी डलरमा विद्युत् कारोबार हुने गरेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले तीन अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही वर्ष एक अर्ब १७ करोड युनिट विद्युत् आयातबापत १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो।
गत आर्थिक वर्ष विद्युत् आयातको तुलनामा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो। नेपाल पछिल्ला दुई वर्षदेखि विद्युत्को खुद निर्यातकर्ता बनेको छ।