काठमाडौं, पुस २० – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत ‘खोज्न’ भनेको कल रेकर्ड सार्वजनिक भएको छ। ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, “म मात्र ११,७८० भोट खोज्न चाहन्छु,” वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ। अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडेनले जितेका छन्। बाइडेनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन्।
सार्वजनिक अंशमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेटलाई वैकल्पिक रूपमा दबाब दिइरहेको र फुस्ल्याइरहेको सुन्न सकिन्छ। उनले जोर्जियामा चुनाव जितेकोमा जोड दिएका थिए र रफेन्सपोगरलाई भनेका थिए, “तपाईँले पुन: गणना गरेको भन्नुमा केही पनि गलत हुने छैन।”
रफेन्सपोगरले प्रतिउत्तर दिँदै भनेका थिए, “तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ।”
उक्त कलमा पछि ट्रम्पले फुल्टोन काउन्टीमा मतपत्र च्यातिएको र त्यहाँबाट चुनावी मेसिनरी हटाइएको हल्ला चलेको बताएका थिए। त्यसलाई त्यहाँको जिम्मेवारी पाएका रफेन्सगोपरका वकिलले त्यस्तो नभएको बताएका थिए।
त्यसपछि राष्ट्रपतिले अधिकारीलाई सम्भावित कानुनी परिणामको धम्की दिएका थिए। यद्यपी ह्वाइट हाउसले हालसम्म उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्। सबै ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन्। त्यसका लागि केहीले पुन: मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो।
FACEBOOK COMMENTS