काठमाडौं, चैत ४ –राष्ट्रिय विभूति भगवान् गौतमबुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’को आयोजना हुँदै छ । बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिइयो ।राष्ट्रिय नाचघर र डबली थिएटरको आयोजना तथा वाग्मती प्रदेश सरकारको सहयोगमा यही चैत ८ देखि १४ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सव काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।
एक वर्षअघि नै तयारी थालिए पनि कोरोना महामारीका कारण स्थगित भएकोमा अवस्था केही सामान्य भएसँगै सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । “मैले यो २५ वर्षअघि नै सोचेको थिएँ । अन्ततः २०२१ मा आएर सम्भव भयो । बुद्धको दर्शन, जीवनीबारे किताब, गीतहरुमा थुप्रै आएको छ । तर, रंगमञ्चमा भने हामीले पहिलोपटक ल्याउँदै छौँ,” महोत्सव निर्देशक पुष्कर गुरुङ भन्छन्, “विदेशी प्रस्तुतिहरु पनि भएकाले यसले बाहिरबाट बुद्धलाई कसरी हेरिरहेका छन् भन्ने दृष्टिकोण हामी देख्न सक्छौँ । साथै, यसले नेपालको पर्यटनमा पनि मद्दत पुग्ने विश्वास हामीले राखेका छौँ ।”
एक साता चल्ने महोत्सवमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी सातवटा नाटक मञ्चन हुनेछन् । नेपालबाट मण्डला थिएटर, झोराहट थिएटर, सेलो थिएटर, नाचघर, मेला आर्टस् एकेडेमीबाट एक/एकवटा नाटक मञ्चन हुनेछ । हङकङ र भारतको नाटकसमेत मञ्चन हुने जनाइएको छ । महोत्सवमा चर्या नृत्य तथा कार्यपत्र प्रस्तुति पनि हुनेछ ।
“महोत्सवहरु धेरै हुन्छन् । तर, त्यसबारे छलफल, गोष्ठीहरु हुँदैनन् । तर, हामीले यो महोत्सवबाट आर्टिस्टिक पफर्मेन्ससँगसँगै बुद्धधर्मसँग सम्बन्धित छलफल कार्यक्रम पनि राखेका छौँ,” छलफल संयोजक डा. सचिन घिमिरेले बताए ।
महोत्सवले बुद्ध दर्शनलाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । यस वर्षदेखि सुरु हुन लागेको महोत्सव अब हरेक वर्ष सञ्चालन हुने र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने योजना आयोजक टिमको रहेको छ ।
FACEBOOK COMMENTS