काठमाडौं, चैत ३१ – पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिना अघि भारतको नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।
स्वासप्रस्वासमा समस्या देखिनुका साथै खोकी र ज्वरो लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै बाराका संक्रमित पनि आज विहान नारायणी अस्पतालमै मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।
।
FACEBOOK COMMENTS