काठमाडौं, वैशाख ३० – नेपाल इन्भेष्टमेण्ट (एनआईबीएल) र हिमालयन बैंक (एचबीएल) बीच एक आपसमा गाभ्न/गाभिनका लागि प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुशरण गर्दै दुई बैंकबीच गाभ्न/गाभिनका लागि प्रारम्भिक सम्झौता भएको हो ।
आज बिहीबार भएको उक्त सम्झौतामा एनआईबीएलका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा एचबीएलका अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।
मर्जर पछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुने छ ।
दुई बैंक एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नाका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने दुवै बैंकको विश्वास छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी रू. १६.२६ अरब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रू. १०.६८ अरब छ । दुवै बैंक मर्ज भएर एकीकृत कारोबार शुरू भएपछि बैंकको चुक्ता पू‘जी रू. २६.९४ अरब पुग्ने छ । र सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक समेत बन्ने छ ।
त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष रू. १४.१० अरब र हिमालयन बैंकको रू. ७.६७ अरब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको रू. १६०.९८ अरब र हिमालयन बैंकको रू. १२७.१४ अरब तथा निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको रू. १६८.२९ अरब र हिमालयन बैंकको रू. १४३.७० अरब रहेको छ ।
दुबै बैंक एक आपसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनाका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न सक्षम हुने विश्वास बैंकको छ ।
त्यस्तै लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षले बताएका छन् । यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरूप्रति उनीहरूले आभार समेत व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS