काठमाडौं, जेठ १ – धनगढी सिटीलाई १–० गोलले हराउँदै काठमाडौं रेजर्सले मुलुककै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १–० गोलले पराजित गरेको हो ।
काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा गोल गरेका थिए । सोही गोल जितमा परिणत भएसँगै काठमाडौं रेजर्स च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ ।
प्रतिस्पर्धामा दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त गरेको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीले भाग लिएका थिए ।
FACEBOOK COMMENTS